समानुपातिकतर्फमा परिणाम सार्वजनिक, एमाले पहिलो काँग्रेस दोस्रो दल

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक परिणाम सार्वजनिक गरेको छ ।

आयोगको शुक्रबार काठमाडौंमा बसेको बैठकले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोकेको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्यालाई शुक्रबार नै सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरेर पठाईएको आयोगले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आयोगको निर्णय अनुसार, ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै समानुपातीक सिट प्राप्त गर्न सफल भएका छन् । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ४१, नेपाली कांग्रेसले ४०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १७ सिट प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् । नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था रहेको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिनुभयो ।

राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने छ । दलहरुले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी तीन भित्र नामावली पेश गर्न आयोगले आग्रह गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..