२ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटे गोपाल खड्का

काठमाडौ । नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका छन्। खड्का नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा खड्का छुटेका हुन्।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो। अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ। खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको थियो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन पनि माग गरेको थियो। पछिल्लो समय खड्काले अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको देखिन्छ। करिब ३३ वर्ष सरकारी सेवामा रहँदा पनि कमाउन नसकेको सम्पत्ति उनले आयल निगममा प्रवेश गरेपछि साढे ४ वर्षमा नै कमाएको देखिन्छ।

सडक विभागमा रहँदा र खासगरी आयल निगमको प्रमुख भएयता खड्काले अस्वाभाविक सम्पत्ति आर्जन गरे। अकूत रुपमा सम्पत्ति आर्जन गरेको विषयमा विवाद बढेपछि उनलाई गत २ असोज २०७४ मा मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो। तर, खड्काले गत २४ जेठमा मात्र सरकारलाई राजीनामा बुझाएका थिए।

सरकारी सेवामा प्रवेश गरेयता ०६९ सालसम्म उनले कुल ८ करोड ६४ लाख रुपैयाँ आय गरेको देखिएको अख्तियारले दायर गरेको आरोपत्रमा उल्लेख छ। उनी ०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी सुरुमा ओभरसियरका रूपमा सरकारी सेवामा छिरेका थिए।

अख्तियारले २ चैत ०६९ सम्म र त्यसयताको अवधिमा गरी दुई कालखण्डका आधारमा अनुसन्धान गरेको थियो।अख्तियारको अनुसन्धानमा खडकाको कूल सम्पत्तिको ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ मात्रै वैध रहेको खुलेको थियो। आयोगले खड्काले पदमा बसेर २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ जोडेको भेटिएको जनाएको छ


राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..