गोविन्द केसीले किन मागे प्रधानन्यायाधीश पराजुलीको राजीनामा ?

काठमाडौ ।प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले विचाराधीन मुद्दामा प्रभाव पार्नेगरी चलखेल गरिरहेको भन्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा शनिबार पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीले अहिले पनि विवादास्पद कार्यहरु गरिरहेको आरोप लगाउँदै मुख्य पाँच वटा माग अघि सार्नुभएको छ । सर्वोच्चले प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाएर छानबिन गर्न आदेश दिए पनि पदमै रहिरहँदा चलखेलका लागि ठाउँ रहेको डा केसीले बताउनुभयो ।

डाक्टर केसीले पराजुलीले न्यायको बेचबिखन गरेको आरोप लगाउँदै इमानदार न्यायाधीशहरुको सम्मान सम्मान गर्ने धारणा राख्नुभयो । यस्तै, डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीले गलत तरिकाले प्राप्त गरेका नागरिकताका प्रतिलिपिहरु, शैक्षिक प्रमाणपत्रहरु तथा तिनका आधारमा भएका नियुक्ति बदर गरी कानुनी कारबाही गर्न समेत माग गर्नुभएको छ ।

प्रधानन्याधिश पराजुलीलाई विपक्षी बनाई ल्याइएको अदालतको अवहेलना मुद्दा तत्काल दर्ता गरी कारबाही अगाडि बढाउन पनि उहाले माग गर्नुभएको छ ।

साथै डा केसीले प्रधानन्यायाधीश पराजुलीले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाइस रेकर्ड झिकाउने लगायतका कार्य गरी गम्भीरतापूर्वक अनुसन्धान गर्न समेत माग गर्नुभएको छ ।

डाक्टर केसी प्रधानन्यायाधीशले न्यायको किनबेच गरेको भन्दै प्रधानन्याधिशको राजीनामाको मागसहित गत पुसको अन्तिम साता अनसन बस्नुभएको थियो । अनसनकै क्रममा सर्वोच्चको आदेशका आधारमा केसीलाई अनसन स्थल त्रिवि शिक्षण अस्पतालबाटै पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो । बहसपछि सर्वोच्चको इजलासले पराजुलीको नागरिकता प्रतिलिपि र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..