एमालेबाट प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदको नाम तय, कोको परे ?

काठमाडौ । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदको नाम तय गरेको छ ।

आईतबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको तर्फबाट प्रतिनिधिसभा समानुपातिकतर्फका ४१ जना सांसदको नाम तय गरेको हो । समावेशी सिद्धान्तको आधारमा सबै क्षेत्रको प्रतिनिधित्व हुने व्यवस्था अनुसार नै सांसदहरुको नाम तय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।

एमालेले ४१ जना सांसद मध्ये ३७ जना महिला र ४ जना पुरुष सांसदहरु छनौट गरेको हो । जस अनुसार पुरुष सांसदहरुमा मुकुन्द न्यौपाने, डा. विजयी सुब्बा, मोहन बानिया र मोतिलाल दुगड रहनु भएको छ । त्यसैगरी महिलाहरुमा थममाया थापा, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाक्री, विना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढाथोकी मगर, राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा छानिनु भएको छ ।

त्यसैगरी एमालेले कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तिर्था गौतम, शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी, गंगा चौधरी, निरादेवी जैरु, विमला विश्वकर्मा, पार्वतीकुमारी विशंखे, सानु शिवा, आशाकुमारी विश्वकर्मा, जुलीकुमारी महतो, पुष्पाकुमारी कर्ण कायस्त, सरलाकुमारी झा, रेखाकुमारी झा, सरिताकुमारी गिरी, कालिका खान र समिना हुसेनलाई पनि एमालेले प्रतिनिधिसभा समानुपातिक सांसदमा छनौट गरेको छ ।

एमालेले आगामी फागुन २ गते भित्र माओवादी केन्द्रसँग मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने तयारी पनि गरेको छ । सचिव ज्ञवालीले २ दलको तर्फबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिएको पनि जानकारी दिनु भयो । बैठकले फागुन भित्र एकता हुनेगरी माओवादी केन्द्रसँगको छलफललाई तीव्रता दिने निर्णय पनि गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकताको प्रारम्भिक खाका सरकार गठन अघि नै तयार हुने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफललाई अघि बढाइएको जानकारी दिनु भएको थियो । फागुन महिना भित्रै एकता हुने गरी दुई पार्टी बीचको छलफललाई अघि बढाउने निर्णय पनि बैठकले गरेको सचिव ज्ञवालीले बताउनु भयो ।

राष्ट्रियसभामा मनोनित गर्ने ३ जनाको नाम सरकारले सिफारिस गरेकोमा पनि एमालेले आपत्ति जनाएको छ । राष्ट्रिय सभामा मनोनित गर्ने ३ जनाको नाम सिफारित गर्ने काम चलाउ सरकारको निर्णय मान्य नहुने निर्णय लिइएको पनि सचिव ज्ञवालीले बताउनु भयो । सरकारको सो निर्णय अनुचित, त्रुटिपूर्ण र संविधान तथा जनताको भावना विपरित रहेको एमालेको दावी छ ।

बैठकमा नेताहरुले माओवादी केन्द्रसँग भएको पार्टी एकताका विषयमा अध्यक्ष ओलीसँग विभिन्न जिज्ञासा पनि राखेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..