यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था

यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 1

२०६५ सालमै कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलबाट सिभिल इन्जिनियरिङ सकेका काठमाडौका किशोर न्यौपानेको कमाई राम्रै थियो। कलेज सकेलगत्तै विभिन्न निर्माण कार्यमा परामर्शदाताका रुपमा कार्यक्षेत्रमा होमिएका न्यौपानेको एउटा इन्जिनियरको औषत आम्दानी भइरहैकै थियो। अझ ह्याविट्याट फर ह्युम्यानिटी कन्ट्रक्शन म्यानेजरका रुपमा रहेका उनको मासिक आम्दानी डेढ लाख बढी थियो। यसबाट न्यौपाने परिवार सन्तुष्ट पनि थियो । तर, इन्जिनियर न्यौपानेभित्र भने एउटा ‘हुटहुटी’ चलिरहेकै थियो । त्यो हो कुनै व्यवसाय वा उद्यम त गर्नैपर्छ ।

उनलाई जागिर आम्दानीका लागि त राम्रै थियो । तर त्यसले आत्मसन्तुष्टि दिइरहेको थिएन । उनलाई कताकता चिमोटिरहन्थ्यो –‘जागिरले जिविका त चल्छ तर त्यसले समाजको समृद्धि सम्भव छैन ।

यस्तैमा न्यौपानेको भेट एमबीए सकेर डिजीमार्टमा कार्यरत सिन्धुलीका बुद्धिराज भट्टराईसँग भयो। भट्टराई पनि केही त नयाँ गर्नैपर्छ भन्ने सोचिरहेका थिए । उनीहरुबीच विभिन्न व्यवसायका विषयमा विभिन्न चरणमा छलफलहरु भए । उनीहरुले सबै व्यवसायका राम्रा र नराम्रा पक्षहरु चिरफार गरे । त्यसो त दुवै जना उच्च शिक्षा हासिल गरेका युवा थिए । भट्टराई र न्यौपानेले साना र ठुलो सबै खाले व्यवसायका विषयमा समीक्षा गरे । यही उनीहरुको दिमागमा ‘कपाल काट्ने’ व्यवसायले क्लिक ग-यो।

उनीहरु आफैले काट्दा भोगेका पीडाहरु स्मरण गरे । मूल्यमा भन्दा पनि नयाँ प्रविधि र स्वास्थ्यसँग सम्बन्धित सम्वेदनशीलतामाथि विचार गरे । गुणस्तरीय सेवामा आम सर्वसाधारणको पहुँचका विषयमा छलफल गरे। र, जन्मियो केबी स्टाइलिस । निश्चित जातिको पेसाजस्तो व्यवसायका रुपमा रहेको कपाल काट्ने पेसालाई ‘हाम्रो कपाल राम्रो कपाल’ भन्ने स्लोगनसहित न्यौपाने र भट्टराईले काठमाडौको जडिबुटीस्थित नरेफाँटबाट व्यवसायका रुपमा सुरु गरेका छन्। न्यौपाने भन्छन्–कुनै काम वा व्यवसाय सानो र ठुलो हुँदैन । अझ यस्तो काममा पढेलेखेकाहरुले हात हाल्दा अरुलाई पनि प्रेरणा बन्न सक्दछ।

रोजगारी अभावमा दैनिक झण्डै दुई हजार युवा अदक्ष कामदारका रुपमा खाडी र मलेसियातिर लाम लागिरहेका छन्। विदेशिनकै लागि राहदानी लिनेहरुको भिड छ । कुनै सीपबिनै विदेशिएका युवाहरुले विदेशमा पनि खप्नुसम्मको सास्ती खपेका छन् । आफू खाडी र मलेसियामा पसिना बगाइरहँदा परिवारबाट पनि टाढिनु परेको छ । सरकार पनि राहदानीको राजश्व हिसाव गरेर बसेको छ । अझ बेरोजगारलाई ‘भत्ता’ दिने कुरा गरिरहेको छ । यसलाई कतिले ‘माछा पार्न सिकाउनुभन्दा पनि माछा मारेर दिन लागेको’ भनिरहेका छन । यता भट्टराई र न्यौपाने भने कतिपय अवस्थामा ‘हेलाहोचो’ का रुपमा लिइने कपाल काट्ने पेसालाई व्यवसाय बनाउँदै रोजगारी सिजर्ना गर्नतिर लागिरहेका छन्।

राजमार्ग डट कमसँगको कुराकानीमा न्यौपानेले भने –‘यो पेसालाई व्यवसाय बनाउने दक्ष जनशक्ति उत्पादन गर्नेतिर सोचिरहेका छौ । दक्ष जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना गर्नु हाम्रो पहिलो उद्देश्य हुनेछ।’

जडिबुटीमा व्यवसाय सञ्चालन गरेको पहिलो महिना नबित्दै कोटेश्वरमा शाखा विस्तार गरिसकेको केबी स्टाइलिसले चाँडै नै रोजगारीको ग्यारेन्टीसहित तालिम सञ्चालन गर्ने जनाएको छ । न्यौपानेले भने–रोजगारीको ग्यारेन्टीसहित दक्ष जनशक्ति उत्पादन, शाखा विस्तार र अहिले चलिरहेकाहरुसँग ब्राण्डका रुपमा सहकार्यसहित अघि बढ्ने योजना छ ।

मुख्य र एउटा शाखा विस्तार गर्दा झण्डै १६ लाख लगानी भएको भन्दै न्यौपानेले उच्चस्तरीय प्रविधि प्रयोग गरेर स्वस्थ ढंगले कपाल काट्यो यो अभियालाई देशव्यापी बनाउने बताए। न्यौपानेका अनुसार नभएका स्थानमा शाखा विस्तार र भएका स्थानमा सहकार्यसहित अघि बढ्ने केबी स्टाइलिसको योजना छ।

प्रयोग भएका सामग्री स्ट्रेलाइज गरेर मात्र पुनः प्रयोग गरिने केबी स्टाइलिसमा १०० रुपैयाँमा कपाल काटिन्छ भने दाह्री बनाएको मात्र ६० रुपैयाँ पर्छ । यो आम सर्वसाधारणले अहिले तिरिरहेको रकमभन्दा बढी होइन । न्यौपानेले भने–‘ग्राहकको चाहनाअनुसार थप सेवा सुविधा पनि छ । तर, यो शुल्क आम सर्वसाधारणको प्रविधि र स्वस्थ कपाल कटाइमा पहुँच पुराउन निर्धारण गरिएको हो।’

अहिलेसम्मको अनुभवमा सफा, स्वस्थ र प्रविधिको प्रयोगसहित कपाल काट्न पाउँदा ग्राहक निकै खुसी हुने गरेको पाएको न्यौपानेले बताए । त्यसैको उत्साहले कोटेश्वरका दोस्रो शाखा गरेको उनले बताए। कोटेश्वर शाखाकोउद्घाटन नायिका दीपिका प्रसाईले गरेकी हुन्। दुई वटा शाखामा अहिले ६ जना पूर्णकालिन कामदार रहेको न्यौपानेले बताए।

त्यसो त केबी स्टाइलिसमा स्वस्थ, सफा र सस्तोमा कपाल काट्दा ग्राहक मात्र खुसी छैनन्, कामदार पनि दङ्ग छन् । केबी स्टाइलिसका मुख्य कपाल काट्ने रौतहट गौरका सुबोधकुमार ठाकुर आफै अचम्ममा परेका छन्। उनको काठमाडौमा आफ्नै पसल छ । तैपनि उनी आफ्नो पसल छाडेर केबी स्टाइलिसमा कपाल काट्छन्। उनले राजमार्ग डट कमसँग कुरा गर्दै भने–हाम्रो पेसा यस्तो होला भन्ने त सोचेकै थिएनौं। अहिले त कुनै टेन्सनबिना दाम पनि राम्रो सम्मान पनि बढेको महशुस भइरहेको छ।

त्यसो त ठाकुर विदेश जान राहदानी बनाउन दौडिरहेका थिए । यस्तैमा उनको भेट न्यौपाने र भट्टराईसँग भयो । अनि उनी पनि जोडिए केबी स्टाइलिसको अभियानमा । उनले भन–आफै काम गर्दा पसल भाडा, सामान, सबै गर्दा झ्याउँ हुन्थ्यो, तर अहिले मज्जाले काम गरेर कमाइ भएको छ ।

उनले भने–आफै काम गर्दा खासै मुनाफा नभएपछि म विदेश जान राहदानी बनाउने तयारीमा थिए । तर न्यौपानेसँग भेटपपछि म अहिले केबी स्टाइलिसमा राम्रो आम्दानी गरिरहेको छु । कमाई बढेकोमा भन्दा पनि केबी स्टाइलमा पोशाकसहित कपाल काट्दा आत्मसम्मान बढेकोमा खुसी छन् । ठाकुरले राजमार्गसँगको कुराकानीमा भने–‘परम्परागत रुपमा कपाल काट्दा खासै आत्मसम्मान थिएन । हेपेर व्यवहार गरेको जस्तो लाग्थ्यो। तर केबी स्टाइलिसमा कपाल काट्दाको अनुभव नै फरक छ । सबैले सम्मानका साथ व्यवहार गरेका छन् ।

कुनै पनि पेसा सानो वा ठुलो हुँदैन । त्यसलाई व्यवसायिक रुप दिन सक्यो भने सबै काम ठुलो हुन्छ । तर, केही पढेलेखेका भनिनेहरु नै विदेशतिर लर्को लागेकाले नपढेकाहरु पनि ‘भेडा’ झै विदेश नै ताकिरहेका छन्। यस्तो घडीमा भट्टराई र न्यौपानेले सुरु गरेको आफ्नो आत्मसन्तुष्टि र काम गर्नेको आत्मसम्मानसँग जोडिएको यो व्यवसाय विस्तारित हुनु आवश्यक छ । यस्ता अभियानमा जुटेका युवाहरुको व्यवसायलाई राज्यले पनि प्रोत्साहित र प्रवद्र्धन गर्न सघाए सुनमा सुगन्ध हुने निश्चित छ।

फोटो फिचर:

यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 2 

यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 3 

यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 4 यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 5

यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 6 यस्तो छ सिभिल इन्जिनियरको कपाल काट्ने व्यवसाय, रोजगारको ग्यारेन्टीसहित तालिमको व्यवस्था 7

 

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..