बुद्धकृष्णले किन छेडे १० इन्च लामो सुईरोले जिब्रो ? (फोटोफिचर)

मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाउँदै जात्रा सकिएको छ ।

बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो ।

त्यसपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ ।

यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्ध कृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । यो उनको सातौं पटक हो ।

ब्रत शुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खानाखान गर्न नहुने, आइमाई छुन नहुने, जुठो, सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ ।

प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा औषधि लाउनु नपर्ने मान्यता रहेको छ ।

किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे ।

यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिएका थिए ।

त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे ।

बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो ।

भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुुँघरु बाँधिदिए ।

बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई पिचाशलाई छाडिदिएको किम्बदन्ती छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..