संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी मनाइयो (फोटोफिचरसहित)

काठमाडौ । संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी धुमधामका साथ मनाइएको छ । संस्कृतिविद् जोशी १ सय वर्ष पुगेको अवसरमा उहाँलाई बग्गीमा राखेर नगर परिक्रमा पनि गराइएको छ ।

जन्म शताब्दीका अवसरमा आज ललितपुरमा आयोजित विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति थियो । राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् जोशीको दीर्घायु र सुश्वास्थ्यको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर पठाएको सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको उच्च प्रशंशा गरिएको छ ।

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर आज विहान उहाँको निवासमा आफन्तजनहरुले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् । ललितपुर महानगरपालिकाले उहाँको सम्मानमा आज सार्वजनिक विदा दिएको छ ।

९९ वर्ष पूरा भई १०० वर्ष पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै त्यहाँका सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको थियो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा दिने तथा उनका नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए ।पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ । गत वर्ष नै ललितपुर महानगरपालिकाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो ।

जन्म मिति अनुसार आज उनी १०० वर्षमा टेकेका छन् । दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउने जोशीको जन्म जन्म १९७७ वैशाख ३० गते पाटन मंगलबजारमा भएको हो । बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा धरतीमा पाइला टेकेका जोशीले ‘हाम्रो लोकसंस्कृति’ लागि पहिलोपटक (वि.सं. २०१३) सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रोपटक (वि.सं. २०१७) सालमा, र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक (वि.सं. २०२८) सालमा मदन पुरस्कार प्राप्त गरे।

उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन् । जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए। वि.सं. २०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे। जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार हात पारेका थिए ।नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनका अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् । उनको आत्मसंस्मरणात्मक कृति ‘जुरेली सन्देश’ पछिल्लो कृति हो । सो कृतिमा पोखराको महेन्द्र गुफा कसरी पत्ता लागेको थियो भन्ने कुरा उल्लेख गरिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..