बच्चामा जीन फेर्ने कार्य ‘मूर्खतापूर्ण तथा खतरनाक’

एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न ‘जीन सम्पादन’ गरिएका जुम्ल्याहा बालिकाको आयु छोटो हुन सक्ने एउटा अनुसन्धानले देखाएको छ।

जीन सम्पादन गर्दा ती चिनियाँ जुम्ल्याहा बालिकाको आनुवंशिक संरचनामा म्युटेशन अर्थात् अनपेक्षित विकृति उत्पन्न भएको थियो। गत वर्ष चीनका प्राध्यापक ख जिएन्क्वेले ती बालिकाहरूको आनुवंशिक संरचना फेरिदिएको घोषणा गर्दा पूरै विश्व स्तब्ध भएको थियो।

प्रसिद्ध जर्नल ‘नेचर मेडिसिन’ प्रकाशित एउटा शोधका अनुसार उनले बनाउन खोजेजस्तो प्राकृतिक रूपमै आनुवंशिक संरचनामा विकार भएका मानिसहरूको कम उमेरमै मृत्यु हुने सम्भावना बढी हुन्छ।

विज्ञहरूले प्राध्यापक ख जिएन्क्वेले गरेको कार्य “एकदमै खतरनाक” तथा “मूर्खतापूर्ण” भएको बताएका छन्।

चिनियाँ प्राध्यापकले के गर्न खोजेका थिए?
प्राध्यापक खको प्रयोग सीसीआर५ नामक जीनमा केन्द्रित थियो। सो जीनमा रोगप्रतिरोध प्रणालीको क्षमताबारे महत्त्वपूर्ण सूचनाहरू हुन्छन्।

तर सोही जीनको सहायतामा एचआईभीले मानवको शरीरमा भएका कोषमा प्रवेश गर्छ। सीसीआर५ मा परिवर्तन गर्दा त्यो बाटो बन्द हुन्छ र त्यसबाट एचआईभीलाई प्रतिरोध गराउने क्षमता मानिसमा विकसित हुन्छ।

त्यसैले प्राध्यापक खले कृत्रिम गर्भाधान गराउने चिकित्सालयमा मानवभ्रूण विकसित गरेर र तिनमा जीन सम्पादन गर्ने प्रविधिमार्फत् सीसीआर५ जीनमा परिवर्तन गरे। सम्पादित जीन भएका बालिका लुलु र नानाको गत वर्ष जन्म भयो।

आयुसँग कस्तो सम्बन्ध छ?
एचआईभी सङ्क्रमणको बाटो भए पनि सीसीआर५ जीनको शरीरमा ठूलो काम छ। यो मस्तिष्कमा सक्रिय हुन्छ र यसले विभिन्न सङ्क्रमण हुन दिँदैन।

बर्क्लीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एउटा अनुसन्धानमा यूकेमा चार लाख १० हजारभन्दा बढी मानिसको अध्ययन गरिएको छ। सीसीआर५ जीनको परिवर्तित रूप मात्र भएका २० प्रतिशत व्यक्तिको मृत्यु ७८ वर्षको उमेरभन्दा अघि नै हुने देखियो।

सो विश्वविद्यालयका प्राध्यापक र्‍यास्मस नील्सन भन्छन्, “यसमा सम्भवत: धेरै मानिसहरू आनुवंशिक संरचनाको परिवर्तन होस् भन्ने चाहँदैनन्।” “वास्तवमा त्यसो भयो भने औसतमा तपाईँलाई नराम्रो नै हुन्छ।”

अर्का अनुसन्धानकर्ता शिन्झु वेईले जीन सम्पादन गर्ने प्रविधि ‘क्रिस्पर’ अझै पनि बालबालिकामा प्रयोग गर्न जोखिमपूर्ण भएको बताउँछन्। उनका अनुसार शुक्राणु वा अण्डको सम्पादन गर्न अहिले क्रिस्पर प्रविधि धेरे नै खतरनाक छ।

जुम्ल्याया बालिकालाई कस्तो असर?
लुलु र नानामा कस्तो प्रभाव पर्छ भन्ने अहिले अस्पष्ट नै छ। “ती जुम्ल्याहा बालिकामा भएका आनुवंशिक विकृतिले पार्ने प्रभाव बारे अनुमान गर्नु असम्भव नै छ,” फ्रान्सिस क्रिक इन्स्टिट्युटका प्राध्यापक रोबिन लोभेल-ब्याज भन्छन्।

अध्ययनमा समाविष्ट तथा आनुवंशिक परिवर्तन भएका सबै व्यक्तिको कम उमेरमा मृत्यु भएको थिएन तर मृत्युको सम्भावना भने बढी देखिएको थियो।

जन्मजात प्राप्त डीएनएको जटिल संरचना तथा बाह्य संसारमा हुने विभिन्न तत्त्व तथा प्रभावले मानिसको आयु निर्धारण गर्छ। परिस्थितिलाई झन् जटिल बनाउन प्राध्यापक ख जिएन्क्वेले एआईभीप्रतिरोध क्षमता भएका मानिसमा हुनेजसरी नै सीसीआर५ जीनमा परिवर्तन गरिदिए।

प्राध्यापक लोभेल-ब्याजका अनुसार सो अनुसन्धानले एकपल्ट फेरि प्राध्यापक खले सीसीआर५ रोजेर मूर्खतापूर्ण काम गरेको देखाएको छ।

प्राध्यापक खको कार्यबारे अरूले के भने?
गत नोभेम्बरमा उनले एचआईभी सङ्क्रमण हुन नदिन उनले भ्रूणमा जीन सम्पादन गरिएको घोषणा गर्दा वैज्ञानिकहरूले उनको आलोचना गरेका थिए। केहीले उनको सो प्रयोगलाई “दानवीय” कार्यको सङ्ज्ञा दिएका थिए।

चीनको कानुन मिचेर अनुसन्धान गरेको तथा स्वस्थ बालबालिकामा कस्तो जोखिम हुन्छ भन्ने स्पष्ट नभईकन त्यस्तो प्रयोग गरेको भनेर उनको आलोचना भयो। एचआईभीको उपचार सम्भव भएको र एचआईभी भएका पिताबाट सन्तानमा भाइरसको सङ्क्रमण सर्ने सम्भावना कम भएको हुनाले पनि धेरैले त्यस्तो प्रयोगप्रति आक्रोश व्यक्त गरे।

अनुसन्धानपछि चिनियाँ अधिकारीहरूले प्राध्यापक खले “प्रतिष्ठा र धन”का लागि अवैधानिक काम गरेको निष्कर्ष निकालेका छन्। प्राध्यापक खले आफ्नो कामको प्रतिरक्षा गर्ने गरेका छन्। हङ्‌कङमा आयोजित एउटा वैज्ञानिक सम्मेलनमा उनले जीन सम्पादनको कामप्रति आफू गौरवान्वित भएको टिप्पणी गरेका थिए। जेम्स ग्यालहार/ स्वास्थ्य तथा विज्ञान संवाददाता, बीबीसी न्यूज

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..