प्रहरीको खोजीमा रहेका भनिएका नवराज सिलवाल पनि बैठकमा सहभागी

काठमाडौ । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय सांसदहरुको प्रशिक्षणमा सहभागी भएका छन् ।

प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी संघीय सांसदको प्रशिक्षण कार्यक्रममा सिलवाल सहभागी भएका हुन् ।

एमाले र माओवादी केन्द्रले संघीय सांसदका लागि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा आयोजना गरेको संयुक्त प्रशिक्षणमा सिलवाल पनि सहभागी भए । सिलवाल सांसदहरुको तेश्रो रोहमा तथा रक्षामन्त्री ईश्वर पोख्रेलको पछाडि बसेका थिए ।

नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद सिलवाललाई खोज्न प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेको थियो । आईजीपी बढुवामा सिलवालले सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मुल्यांकन कीर्ते भएको ठहरपछि यसमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सो क्रममा सिलवाल मुलुकका विभिन्न स्थानमा खोज्दा फेला नपरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौले गरेको अनुरोधका आधारमा प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..