यस्ता छन् दौत्य सम्बन्धको छ दशकमा चीनबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरू

चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी आइतवारदेखि मंगलवारसम्म नेपालको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले परारष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेको पुष्टि गरेका छन्।

मन्त्रालयले शुक्रवार एक वक्तव्य जारी गर्दै उनले नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने जनाएको छ। उनी पाकिस्तानको भ्रमण सकेर नेपाल आउने बताइएको छ।

उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ।

पछिल्ला वर्षहरूमा नेपालले चीनबाट उच्च पदाधिकारीहरूलाई नेपाल भ्रणम गराउन पहल गरिरहेको तर सफल हुन नसकेको कतिपय कूटनीतिक क्षेत्रका जानकारहरूले बताउने गरेका छन्।

अहिलेको सरकारले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल गरिरहेको र त्यो उसका लागि एउटा कूटनीतिक परीक्षा नै हुने कूटनीतिज्ञहरूको मत छ। हालका वर्षहरूमा चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने खबरहरू बारम्बार सार्वजनिक हुने गरे पनि सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रणमपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन्।

राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए। परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्।

नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ।

उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ।

नेपाल-चीन दौत्य सम्बन्ध
नेपाल-चाइना सोसाइटीले प्रकाशित गरेको हिरण्यलाल श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘सिक्स्टी इयरस् अफ डाइनामिक पार्टनरशिप’का अनुसार नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो (पृ. ११)।

पञ्चशीलका आधारमा दुई देशबीच सम्बन्ध स्थापित भएको श्रेष्ठले लेखेका छन्। उक्त पुस्तकका अनुसार नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए।

नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२ औँ देश बनेको थियो। दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए।

महेन्द्रको राज्याभिषेकमा चिनियाँ उप-प्रधानमन्त्री
विभिन्न पुस्तकमा लेखिए अनुसार सन् १९५६ मेमा काठमाण्डूमा भएको राजा महेन्द्रको राज्याभिषेकमा चीनबाट त्यसबेलाका उप-प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए।

श्रेष्ठको पुस्तकमा तत्कालिन चिनियाँ उप-प्रधानमन्त्री वु लाङ्फुले नेतृत्व गर्दै चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको उल्लेख छ। त्यस्तै टीआर घोबलेको पुस्तक ‘चाइना-नेपाल रिलेसन्स एन्ड इन्डिया’मा पनि त्यसलाई पुष्टि गरिएको छ (पृ. १७८)।

उक्त भ्रणमले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा नयाँ युग सुरु गरेको श्रेष्ठले लेखेका छन्।

लाङ्फुले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाएको पाइलाका लागि सहयोग गर्ने वचन दिएको पुस्तकमा लेखिएको छ। त्यसै वर्षको सेप्टेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीनको भ्रणम गरेका थिए। उनलाई चीन भ्रणम गर्ने पहिलो नेपाली प्रधानमन्त्री पनि भन्ने गरिन्छ।

चिनियाँ प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण
टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्।

आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए।

त्यसबेलाको संयुक्त वक्तव्यलाई उदृत गर्दै श्रेष्ठले यस्ता भ्रमणहरूको आदानप्रदानले नेपाल र चीनबीचको मित्रता थप सुदृढ हुने सन्देश त्यसमा रहेको लेखेका छन्।

कतिपय अध्येताहरूका अनुसार तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपालसँग सीमालगायतका समस्याहरू समाधान गर्न सन्धि गर्न चाहन्थे। उनले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थपानापश्चात् देखि नै त्यसका लागि कुराकानी अघि बढाएको नेपाल-चीन सम्बन्धबारे अध्ययन गर्नेहरूले लेखेका छन्।

चाइना क्वाटर्ली अफ इन्टरन्याशनल स्टर्टेजिक स्टडिज्‌मा गत वर्ष प्रकाशित एउटा लेखमा चीनमै विद्यावारिधि गर्दै गरेका एकजना नेपाली बुद्धिप्रसाद शर्माले पनि चाउ एनलाईको उक्त मनसाय रहेको लेखेका छन्।

उनले चीनका लागि तत्कालीन भारतीय राजदूत के एम पणिक्करलाई उदृत गर्दै लेखेका छन्, “चीन, भारत र नेपालबीचको त्रिपक्षीय बैठकका क्रममा उनले ….पाणिक्करसँग सीमा विवाद र अन्य मुद्दाहरूको समाधानका लागि आपसी समझदारी र विश्वासका साथ कोशिस गर्ने कुराकानी गरेका थिए।”

सन् १९५५ मा भएको वाङ्दुङ सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधिमण्डलसँग उनले दौत्य सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको र त्यो प्रस्तावलाई नेपाली प्रतिनिधमण्डलले स्वीकारेको पनि उनले लेखेका छन्।

शान्ति तथा मैत्री सन्धि
नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ।

त्यसबेला उनले चाउ एनलाईलाई नेपाल भ्रणमको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ इनलाईले दोस्रो पटक नेपालको भ्रमण गरे।

उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेको श्रेष्ठले लेखेका छन्। त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।

सीमा सन्धि
त्यस अघि नै कोइरालाको चीन भ्रमणका बेला नेपाल र चीनबीच सीमा सम्बन्धी सम्झौता भएको थियो। सन् १९६० मार्च २१ मा कोइराला र चाउ एनलाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।

श्रेष्ठका अनुसार उक्त सम्झौता हुनुपूर्व मार्च १८ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त्यसबारे कोइरालासँग छलफल गरेका थिए (पृ. १५)।

उक्त छलफलमा माओत्सेतुङले “नेपाल र चीनबीचको सीमा सधैँ शान्ति र मैत्रिपूर्ण हुनुपर्छ” भनेको श्रेष्ठले लेखेका छन्। सोही सम्झौता अनुसार नेपाल र चीनबीचको सीमाको टुङ्गो लगाउन दुवै देशका विज्ञहरू रहेको समूह बनाइएको श्रेष्ठले लेखेका छन्।

उक्त समूहले नेपाल-चीन सीमा सन्धिको मस्यौदा तयार पारेको र त्यसलाई सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्रको चीन भ्रमणका बेला राष्ट्र प्रमुखहरूले हस्ताक्षर गरेको उक्त पुस्तकमा लेखिएको छ। उक्त सन्धिले नेपाल र चीनबीच रहेको सीमा समस्या हल गरेको कूटनीतिज्ञहरूले बताउने गरेका छन्।

त्यसपछिका भ्रमणहरू
नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू तीव्र भएको देखिन्छ। त्यसपछि पनि नेपाल र चीनबीच उच्त तहमा भ्रमणहरू निकै हुने गरेका छन्।

तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रणममा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्।

पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ।

‘इकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपाल’ नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रणम भएका थिए।

कूटनीतिज्ञहरू तथा लेखकहरूले लेखे अनुसार नेपालले चीनसँग सुरुदेखि हालसम्म पञ्चशीलकै आधारमा सम्बन्ध राखेको देखिएको छ।

हरेक उच्चस्तरका भ्रमणहरूमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा जोड दिने गरेको उनीहरूले लेख्ने गरेका छन्।

चीनबाट नेपालमा भएका उच्चस्तरीय भ्रणमहरू:

-बिबिसी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..