पद्मश्री साधना सम्मान र पुरस्कार प्रदान, राशि ३ लाख पुर्‍याइयो

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिँदै आएको पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार आइतवार काठमाडौंमा प्रदान गरियो ।

दुई लाख रुपैयाँ राशिको साधना सम्मान इतिहासविद डा. महेशराज पन्तलाई प्रदान गरियो भने दुई लाख रुपैयाँ राशिकै साहित्य पुरस्कार ‘छुटेका अनुहार’ कृतिका लागि रमेश सायनलाई प्रदान गरियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व इतिहासविद डा. पन्तले इतिहास अध्ययन र खोज अनि लेखन कार्य ठूलो साधना भएको बताउनुभयो । उहाँले लामो समयको साधनाबाट प्राप्त ज्ञानले आफैँलाई र समाजलाई पनि आलोकित गर्ने उल्लेख गर्नुभयो ।

अर्का पुरस्कृत रमेश सायनले आफूले सानैदेखि सपना देख्ने गरेको र आफ्नै सपनाको पछाडि हिँड्दै आएको भन्दै राम्रा सपना देख्ने र त्यसलाई साकार पार्ने आफ्नो स्वभावको परिणाम यो पुरस्कार प्रापति भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साहित्य र स्रष्टाको सम्मान र प्रोत्साहनको उद्देश्यले स्थापना गरिएका साधना सम्मान र साहित्य पुरस्कारको राशि आगामी वर्षदेखि ३ लाख रुपैयाँ पुर्‍याइने जानकारी दिनुभयो ।

प्रमुख वक्ता लेखक, समीक्षक, राजनीतिक विश्लेषक हरि शर्माले वैज्ञानिक अध्ययन र खोजबाट तथ्य पुष्टि गर्नुपर्ने चुनौतीपूर्ण कार्य इतिहासको अनुसन्धानमा योगदान दिनुभएका डा. पन्तलाई सम्मान गर्नु खुसीको कुरा भएको बताउनुभयो । शर्माले पुरस्कृत स्रष्टा सायनको लेखनको प्रशंसा गर्दै सायनको लेखन अझ परिष्कृत र निरन्तर रहोस भन्ने कामना गर्नुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..