काठमाडौ । यूएस एयरको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।
दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिनुभएको हो । उहाँले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको छ ।
दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।