समयमा काम नसक्ने ठेकेदारलाई ठिक पार्ने प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका सडक विस्तारको काममा जिम्मेवार बन्न मातहतका निकायलाई कडा निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमार्फत् काठमाडौं उपत्यकाको सडक विस्तारको काममा हेलचक्रयाई जारी रहे कडा कार्वाही गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मातहतका निकायलाई बोलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवद्धय प्रेमकुमार राई र महेन्द्रमान गुरुङले प्रधानमन्त्रीको तर्फबाट सडक विस्तारको काममा जिम्मेवार बन्न सचेत गराउनु भएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्री ओली सडक विस्तारको काममा ढिलाई गर्नेमाथि कडा कार्वाही गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो । उहाँले जनताले नयाँ सरकारबाट ठूलो भरोसा गरेकाले सोही अनुसारको काम मातहतका निकायले गर्नुपर्ने उल्लेख गर्नु भयो । प्रमुख राजनीतिक सल्लाहकार रिमालले सरकारले आफ्नो कामलाई चुस्त बनाउन अनुगमनको कामलाई कडाई गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले प्रधानमन्त्रीको तर्फबाट हप्ता÷हप्ता दिनमा सडक विस्तारको कामको प्रगति विवरण पेश गर्न पनि निर्देशन दिनु भयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवद्धय राई र गुरुङले जिम्मेवार र जवाफदेही भएर सडक विस्तारको काम समयमै सक्न निर्देशन दिनु भयो । सचिव राईले कामको अनुगमन नभएकै कारण काठमाडौं उपत्यकाको सडक निर्माणको कामले गति लिन नसकेकोतर्फ पनि मातहतका निकायको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदका अर्का सचिव गुरुङले काम गर्ने तरिकामा परिवर्तन गर्न मातहतका निकायलाई सचेत गराउनु भयो । उहाँले काममा समन्वयको अभाव देखिएको भन्दै त्यसमा सचेत हुन पनि सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारी, काठमाडौं सडक विस्तार आयोजना प्रम्ुख दिपक केसी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले सडक विस्तामा देखिएको समस्याबारे जानकारी गराउनु भएको थियो ।

त्यसक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत पोलका कारण सडक विस्तारमा समस्या देखिएको भन्ने आरोप सत्य नभएको दावी गर्नु भयो । उहाँले सडक विस्तार नभई विद्युत पोल राख्न नमिल्नेतर्फ पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको ध्यानाकर्षण गराउनु भयो ।

त्यसैगरी काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले उचित क्षतिपूर्तिको व्यवस्था गर्न नसक्दा सडक विस्तारको काममा ढिलाई हुने गएको स्पष्टिकरण दिनु भयो । उहाँले जग्गाको मुआब्जा दिन आवश्यक बजेटको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नु भयो ।

यता, काठमाडौं सडक विस्तार आयोजना प्रमुख दिपक केसीले समन्वयको अभावमा सडक विस्तारको कामले गति लिन नसकेको स्विकार गर्नु भयो । उहाँले स्थानीय तहलाई बाईपास गरेर सडक विस्तार गर्ने काममा सुधार ल्याउन लागिपर्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले उपत्यकाको सडक विस्तारको काम अस्तव्यस्त भएपछि त्यसलाई गतिदिन मातहतका निकायलाई सचेत गराएको हो । त्यस अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले सडक विस्तारमा आवश्यक सहयोग गर्न प्रधानमन्त्री ओली प्रतिवद्ध रहेको पनि बताउनु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..