जवान छोरा फलामे खोरमा राख्न बाध्य एउटी आमा, कति रुन्छ होला आमाको मन !!! (भिडियोसहित

चितवन। चितवनलाई मेडिकल सिटीको रुपमा चिनिने गरेको छ । चितवनमा धेरै अस्पतालहरु खुलेका छन् र उच्च प्रविधिका साथमा सेवा समेत दिइरहेका छन् । विभिन्न जिल्ला एवं भारतबाट समेत बिरामीहरु चितवनमा उपचारका लागि आउने गरेका छन् । तर चितवनकै एक युवा उपचारको अभावमा फलामको खोरमा बस्न बाध्य छन् ।

मेडिकल सिटीको रुपमा चिनिने चितवनका एक युवा उपचार नपाएर फलामको खोरमा बस्न बाध्य छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ गणेश चोकका शिवराम भुषाल उपचारको अभावमा फलामको खोरमा बस्नु परेको छ ।

उनी फलामको खोरमा बस्न थालेको ६ महिना बितिसकेको छ । त्यसअघि उनलाई डोरीले बाँधेर राखिएको थियो । जन्मजात नै सुस्त मनस्थितिका उनी अहिले २९ बर्षका भए । उनको मानसिक अवस्था कमजोर भएकाले उनको परिवारले उनलाई फलामको खोरमा राख्न बाध्य भएको हो ।

मानसिक सन्तुलन ठिक नभएकाले उनलाई सानैदेखि नै खुल्ला छोड्न नसकिएको परिवारले जनाएको छ । प्रत्यक्ष निगरानीमा रहने बेला उनलाई खुला रुपमा छोडिने तर काम गर्ने समयमा उनलाई फलामको खोरमा राख्नु पर्ने बाध्यता रहेको उनकी आमा जया भुषालले बताइनन् ।

शिवरामलाई कुनै कुराको होसै हुँदैन, उनी बोल्न पनि सक्दैनन, दिसा पिसाव समेत तर्काउन सक्दैनन् र लुगा पनि लगाउन सक्दैनन् । उनले कपडामै दिसा पिसाव गर्ने गरेका छन् । जवान छोराको दिशापिसाव उनका बुवाआमाले सोर्दै आएका छन् ।

जन्मजातै सुस्त मनस्थिति भएका शिवरामलाई सानैमा पोखराको विभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर सन्चो नभएको उनको आमाले जयाले बताइनन् । यहीँ समस्याको कारण उनलाई सानो छदैदेखि घरमै राख्ने गरिएको थियो । घरमा अहिले शिवरामको बुवा, उनकी आमा र शिवराम मात्रै रहेका छन् । श्रीमान विद्यालयमा पढाउन जानुहुन्छ , घरमा आफु एक्लै हुने र घरको काम गर्नुकी छोराको स्याहार सुसार गर्दै उनलाई कुरेर बस्ने भन्ने समस्या जयालाई छ ।

त्यसैले पनि शिवरामलाई फलामको खोरमा राखेर घरको काम गर्नुपर्ने बाध्यता छ । उनलाईलाई एक्लै खुल्ला छोडे उनी आफ्नै सुरमा कतै जाने र हराउने हुन्की भन्ने डर परिवारलाई रहेको छ ।

खुल्ला छोड्न पनि नसक्ने , खोरमा राख्दा पनि मन रुन्छ भन्दै जयाले दुःख व्यक्त गरिनन् । उनलाई कुनै संघसंस्थाले उद्धार गरेर राम्रो औषधी उपचार गरेर छोरा ठिक हुने भए परिवार खुसी हुने उनले बताइन् । शिवरामलाई अहिले दिउँसोमा खोरमा राख्ने र बेलुका घरभित्र सुताउने गरेको परिवारले बताएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..