कस्ले भन्छ देशमा प्रतिभा छैन ? चितवनका एक चेपाङ्ग युवाले उडाए आफैले बनाएको प्यारामोटर

चितवन । नेपालमा प्रतिभा नै छैन भन्नेहरु धेरै छन् । अझ भएको प्रतिभा पनि विदेश पलायन भएको कुरा धेरैले गर्छन् । तर चितवनका एक युवाले आफ्नो जोश र आँटको भरमा अपत्यारिलो काम गरेर देखाएका छन् । त्यसैले अवसर र पूँजी पाए नेपाली युवाहरु जुनसुकै काम गर्न सक्षम छन् भन्ने यो घटनाले पनि पुष्टि गरेको छ।

पिछडिएको र आर्थिक रुपले विपन्न समुदायको रुपमा रहेको चेपाङ्ग समुदायका एक युवाले जोस र आँटले जीवनमा नयाँ केही गर्न सकिन्छ भनेर सावित गरेका छन् । चितवनका एक चेपाङ्ग युवाले आफैले घरमै प्यारामोटर निर्माण गरेर स्थानीयलाई चकित पारेका छन् । उनले प्यारामोटर निर्माण मात्रै नगेरनन् परीक्षण स्वरुप उडाएर पनि देखाएका छन् ।

चितवनका एक चेपाङ्ग युवाले प्यारामोटर उडाएका हुन् । चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सारोज चेपाङ्गले आफैले निर्माण गरेको प्यरामोटर उडाएका हुन् ।

स्थानिय स्रोत साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आइतबार राप्ती नदीको बगरमा उडाएर परीक्षण गरे । यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको प्रभावले प्यारामोटर उडाउन नसकेका सरोजले आइतबार भने सफतापूर्वक प्यारामोटर उडाएका हुन् ।

सामान्य परिवारका २० बर्षका सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए । ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले १ महिना लगाएर एक्लैले प्यरामोटर निर्माण गरेका हुन् । प्यारामोटर निर्माण गर्न १४९ सिसि को मोटरसाइलकोे एउटा पुरानो इन्जिन ,एउटा प्यारासुट , ठेलाको टायर ,क्लच ,ब्याट्री । स्टिल , आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरेको उनले बताए ।

उनले बनाएको प्यारामोटरमा ३ वटा चक्कासमेत भएकाले प्यारासुट नहाली सडकमा गुडाउन समेत मिल्ने उनले बताए । सरोजले २ जना चड्न मिल्ने मिनी एयरक्राफ्ट समेत निर्माण गरिरहेका छन् । तर आर्थिक अभावका कारण इन्जिन खरिद गर्न नसक्दा उनले त्यसलाई पूर्णता दिन नसकेको उनकी आमा लिला प्रजाले बताइन् ।

मिनी एयर एयरक्राफ्ट निर्माण गर्न हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिइन् । मिनी एयर एयरक्राफ्ट निर्माण गरिरहेको हेर्न धेरै मानिसहरु आएका र यो बन्दैन, उडाउन सक्दैन भन्ने जस्ता नकारात्मक कुरा गर्ने गरेकाले उनीहरुलाई विश्वास दिलाउन पनि मिनी एयरक्राफ्टभन्दा पहिला प्यारामोटर बनाएर उडाउने सोचका साथ प्यारामोटर निर्माण गरेर उडाएको सरोजले बताए ।

परीक्षण स्वरुप उडाएको प्यारामोटरलाई सरोजले करिब ४० मिनेटसम्म आकाशमै घुमाएका थिए । उनको उक्त परीक्षण हेर्ने राप्ती नदीको बगरमा स्थानीयहरुको भिड लागेको थियो । सफलतापुर्वक प्यारामोटर उडाएपछि उनलाई स्थानीयले फुलामाला र अविर लगाएर बधाई दिएका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..