गृहमन्त्री अचानक अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेपछि….

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेको अध्यागमनको आज छड्के निरीक्षण गर्नुभएको छ ।

सो क्रममा अध्यामगनको यात्रुहरु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकता अनुसार १५ जनासम्म कर्मचारी खटिने गरेपनि कम्तिमा १० जना कर्मचारी दिउँसोको समयमा खटिनुपर्ने प्रवाधान रहेको छ ।

निरीक्षणको क्रममा चार जनामात्रै भेटिएपछि गृहमन्त्री बादलले अन्य कर्मचारी खै भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा त्यहाँ उपस्थित कर्मचारीले तीन जना कर्मचारी खाजा खान गएको जवाफ दिएका थिए ।

सो लगत्तै गृहमन्त्रीले अनुपस्थित कर्मचारीहरुको विवरण लिनुभएको थियो । अनुपस्थित कर्मचारीहरुलाई तत्कालै कारवाही प्रक्रिया अगाडी बढाईने गृहमन्त्रीले बताउनुभएको छ ।

यस्तै गृहमन्त्री बादलले विमानस्थलको सुरक्षाजाँच, भन्सार, सिसि टिभी क्यामेरा अनुगम डेस्क लगायतका विषयमा समेत जानकारी लिनुभएको थियो ।

गृहमन्त्री थापाले विमानस्थलको सुरक्षामा संवेदनशिल हुन र सुरक्षा व्यवस्था कडा पार्न विमानस्थलका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

छड्केपछि सञ्चारकर्मीसँगको कुराकानीमा गृहमन्त्री बादलले विमानस्थल र अध्यागमन सुधारलाई आफुले प्राथमिकतामा राखेको बताउनुभयो ।उहाँले यसभित्रका गलत प्रवत्तिबारे आफु जानकार रहेको भन्दै त्यस्ता प्रवृत्तीहरु अब कारवाहीको दायरमा आउने स्पष्ट पार्नुभयो ।

यहाँबाट मानतस्करी देखि अवैध वस्तुको तस्करीसम्म हुने गरेको भन्दै त्यो सञ्जाललाई आफुले ताड्ने गृहमन्त्रीको भनाई छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..