मालिक (कविता)

मालिक (कविता) 1

*******
मालिक !
सेतो कमेरो पोतेको
उहिलेको तपाईंको त्यो
मनकारी घरको
रातो माटोले लिपेको
निस्वार्थ पिँडिमा बसेर
हाते कल घुमाउँदै
तपाईंको भोटो कट्टु सिउने
म त्यहि डल्ले दमाई क्या !
अहिले नचिनेर के भो र?

तपाईं अलि बुझक्कट भएपछि
मलाई सबैले उतिखेर
अछुत,डल्ले नामाकरण गर्दा
आगोको उदाहरण दिई
तपाईंले नै
शक्तिको ब्याख्या गरेको
अझै सम्झना छ मलाई ।

निकै समय पछिको कुरा
मैले सिएको दौरा फेर्दै
तपाईं ठूलो मान्छे भएपछिको कुरा
यो डल्ले दमाई ठूलो आस बोकेर
तपाईंको शरणमा पुग्दाको कुरा
अनि …
अनि ,
तपाईंको भब्य महलबाट
आफू गलहत्याईएपछिको कुरा !

पोलिएर सुनले
सुनको दर्जा पाएजस्तै
मान्छेको दर्जा पाउन
आफैलाई पोल्न
म भुङ्रोमा हाम फालेको मालिक!

आगोकै दहमा हामफालेर
आगो निलिसकेपछि मान्छे –
आगै बन्दो रहेछ !

अत्यावश्यक हो आगो जीवनको
समझदारीमा यो
जति उपयोगी रहन्छ
अन्यथा
डँडेलो भई यसले
तान्डव नृत्य देखाउँछ!

नहेप्नु आगोलाई
सामान्य नठान्नु
अरबौँका महल
र बुलेटप्रुफ गाडिहरू पनि
एक झिल्को आगोले
छिनभरमै
खरानी बनाउन सक्छ
विकाशको विकराल स्वरुप
“प्राविधी” पनि आगो हो।

मैमत्त अहमका अग्ला टाकुराहरू
भुस झैँ धुवाम्मे हुँदै
शुन्यमा हराउन सक्छन्

चट्यान पनि आगो हो
ज्वालामुखी पनि आगो !”

तपाईंले नै भन्नुभएको हो –
“युगौँदेखि प्रकृती र मानवहितका निम्ति
कठिन यात्रा खेपिरहेको
माईलौँ टाढाको
त्यो शान्त घाम पनि त आगो नै हो !
आगो नभई मान्छे , मान्छे हुँदैन ।”

हो मालिक
कति सानो हुन्छ नि झिल्को
सानै त हुन्छ सलाईको काँटि
साना चिजहरू भनेर
कहिल्यैअपमान गर्नुहुन्न
सबै ठूला मान्छेहरू
प्रारम्भमा
उस्तै सुक्ष्म भ्रुण नै त हुन्छन् नि
आमाको गर्भमा !
*** ***
बाबा बस्नेत
वरिष्ठ साहित्यकार

loading...
Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..

%d bloggers like this: