
काठमाडौं । इरानको उच्च सैन्य प्रमुख कासिम सुलेमानीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार राजधानी तेहरान पुगेको छ । आँसु, शोक र नारा लगाउँदै लाखौँ तेहरान बासी सडकमा उत्रिएका छन् ।
समाचार एजेन्सी एपीका अनुसार सो श्रद्धाञ्जलि सभामा आँखाले भ्याउनेसम्म मान्छे नै मान्छे मात्रै देखिएका थिए । इरानी सरकारी टीभीले दशौं लाख आएको बताएको छ । श्रद्धाञ्जली कार्यक्रममा जम्मा भएका लाखौंको भीड रोइरहेका बेला सर्वोच्च नेता खमेनी मृतक सुलेमानीको पार्थिव शरीरअघि प्रार्थना गर्ने क्रममा सम्हालिन नसकेर रोइरहेको भिडियो फुटेज एएफपीले सार्वजनिक गरेको छ ।
अन्तिम श्रद्धाञ्जली दिन पुगेका लाखौँ नागरिकको आँखामा आँसु र अनुहारमा शोक देख्न सकिन्छ । इरानका सबैभन्दा शक्तिशाली मानिएका जर्नेल सुलेमानीको हत्यापछि अहिले तेहरान र वाशिंगटनबीच तनाव उत्कर्षमा पुगेको छ ।