हत्या, अपहरण तथा बिष्फोटन कार्यमा संलग्न यादव पक्राउ

काठमाडौँ । हत्या, अपहरण तथा बिष्फोटन कार्यमा संलग्न रौतहट गरुडा नगरपालिका–७ घर भएका ३६ बर्षीय बारुद सिंह भन्ने सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा बिरगंज महानगरपालिकाको विभिन्न स्थानमा यादब लुकीछिपी बसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिरगंज महानगरपालिका–३ छपकैयाबाट उनलाई पक्राउ गरेको हो । यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

यादव गत २०६७ कात्तिक १९ गते शंकरपुर गाविस–७ बस्ने विजय यादवलाई अपहरण गरी हत्या गरेको घटनामा, २०६८ मंसिर ९ गते सर्लाहीको सिसौट गाविस– ७ बस्ने सुरेश यादवको घर खानतलासी गर्दा कटुवा पेस्तोल २ थान र सोमा फिट हुने ४ राउण्ड गोली समेत फेला परेको घटनामा तथा २०६८ असोज ७ गते सर्लाही महिनाथपुर गाविस–९ स्थित पुल निर्माण गर्ने सामाग्रीहरु राखिएको स्थानमा आगजनी गरेको र सो स्थानमा कार्यरत चुनचुन भण्डारीलाई गोली हानी घाइते बनाएको घटनामा संलग्न रहेका थिए ।

यसैगरी २०७३ भदौ १७ गते सर्लाही बरहथवा नगरपालिका–७ बस्ने शम्भु दासको गोली हानी हत्या गरेको, २०७४ जेठ १५ गते रौतहटको हर्दिया गाविस–८ घर भई सर्लाही बरहथवा बस्ने राम पुकार राय यादवको ७ बर्षीय छोरा राकेश कुमार यादवको अपहरण गरेको , २०६७ साउन १७ गते रौतहट गौर नगरपालिका–५ स्थित अवैध लागूऔषध तथा हातहतियार खरखजाना मुद्दामा फरार रहेको तथा २०६८असार ३१ गते रौतहटको गम्हरीया विर्ता–२ घर भई पोठियाही गाविसका तत्कालीन सचिव महेन्द्र पण्डितको घरमा बम बिष्फोट गराई आगजनी गरेको घटनामा संलग्न रहेका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..