‘बैङ्किङ क्षेत्रमा नयाँ प्रविधि र युवा भित्र्याउनु होस्’

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको समग्र वित्तीय र बैङ्किङ प्रणाली दक्षिण एसियामै सुदृढ रहेको बताएका छन् ।

उनले निष्क्रिय कर्जा पत्याउनै नसक्ने गरी तल झरेकोमा त्यसको प्रशंसा पनि गरे र मुलुकको आर्थिक वृद्धि छदेखि आठ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै उनले भने, ‘अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो । यो सधैँ सरल र सीधा बाटोमा हिँड्दैन, हाम्रो भूगोलजस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ ।’

अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिने उनको भनाइ थियो ।

कृषि विकास बैङ्क लिमिटेडको ५३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ कर्मचारी आउन नदिँदा संस्थामा कुपोषण हुन्छ, ज्ञान सीप भएका युवा कर्मचारी र नयाँ प्रविधि नल्याए संस्थाको अवस्था के हुन्छ ?’

पुराना कर्मचारी स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैङ्किङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाइ थियो ।

मुलुकको बैङ्किङ क्षेत्रमा प्रविधिसम्बन्धी ज्ञान भएका युवा पुस्तालाई अवसर दिन आग्रह गर्दै उनले बैङ्क तथा वित्तीय संस्थामा पुरानै कर्मचारीको हालीमुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरे ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पछिल्लो समय सोचेअनुरूप बैङ्कले सहुलियत कर्जा वितरण गरेको नदेखिएकोले यसमा गम्भीर हुन आग्रह गरे ।

कृषि कर्जाबाहेक तोकिएका अन्य कर्जामा आउने असार मसान्तसम्म प्रत्येक वाणिज्य बैङ्कले पाँच सय जनालाई कर्जा वितरण गरेको हुनुपर्नेमा जोड दिँदै डेपुटी गभर्नर सिवाकोटीले यसको कार्यान्वयन नगरे आर्थिक जरिमाना गर्ने बताए ।

Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..