पूर्वप्रधानमन्त्री खनाल, भीम रावल, भुवन केसीले हेरे ‘शत्रु गते’, कलाकारको तारिफ

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘शत्रु गते’ ले चौतर्फी प्रशंसा बटुलेको छ । वर्ड अफ माउथ राम्रै पाइरहेकाले व्यापार पनि बढ्दै गएको छ । चलचित्र हेर्न पुगेका अधिकांशले यसलाई रुचाएका छन् ।

प्रदर्शनको तीन दिनमै तीन करोड २७ लाख बराबरको कारोबार गर्न सफल भएको चलचित्रलाई पछिल्लो समय हेर्ने चाहना दर्शकसँगै चलचित्रकर्मी र राजनीतिज्ञमा पनि बढ्दो छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोमबार बागबजारमा रहेको सिटी म्याक्स हलमा भीम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवनराम श्रेष्ठसहित पुगेर ‘शत्रु गते’ हेरेका छन् । खनालले चलचित्र हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । खनालसहित अन्य शीर्षस्थ नेताको टोली चलचित्र हेर्न पुगेको थाहा पाएपछि ‘शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए ।

सोमबार नै नायक भुवन केसी र उनको ब्यानरमा बन्ने चलचित्र ‘क्याप्टेन’ का निर्देशक दिवाकर भट्टराईले पनि चलचित्र हेरेका छन् । कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा भुवन र दिवाकरले चलचित्र हेरेका हुन् । नायक केसीले चलचित्र राम्रो बनेको बताउँदै नयाँ पुस्तासँग पनि हरिवंश आचार्य फिट देखिएको उल्लेख गरे । निर्देशकले कलाकारको जम्बो टोलीलाई राम्रोसँग चलचित्रमा देखाएको उनको भनाइ छ ।

चलचित्र ‘रामकहानी’ युनिटले पनि चलचित्र हेरेका छन् । निर्देशक सुदर्शन थापासहित कलाकारहरु आकाश श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बुढा’ र पुजा शर्मा चलचित्र हेर्न पुगेका थिए । चलचित्रलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

‘चलचित्र निकै रमाइलो बनेको छ । हाँसोले भरिएको छ भने हरचिजलाई हाँसोमा टुंग्याइएको छ । चलचित्र आधुनिक छ । हसाउन सफल छ । चलचित्रको चर्चा सुनेर आएको थिएँ, आफ्नो समय खेर फाले जस्तो लागेन । चलचित्र मन परेकैले सम्पूर्ण समय बसेर चलचित्र हेरे । चलचित्रले मनोरंजनसंगै सन्देश पनि दिन्छ । मह जोडीको काम उत्कृष्ट छ,’ पूर्वप्रधानमन्त्री खनालले भने ।-मेडियाएनपीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..