नेपालमा पनि बढ्दो ‘लिभिङ टुगेदर’ : किन सहज छैन महिलाको लागि ?

समाजशास्त्रमा संस्कृतिकरण (एकल्चराईजेशन) को परिभाषाले अन्य समाजको संस्कार आत्मसात गर्दै जानुलाई इंङ्गित गरेको छ । तराईमा मधेशीमुलले अपनाउँदै आएको एउटा पर्व ‘छट’ लाई पहाडिमुलका नेपालीहरुले पनि त्यत्तिकै ठूलो महत्व राख्नुलाई हेर्दा संस्कृतिकरण के हो भन्ने प्रष्टिन्छ । धर्मका कुरा गर्दा हामीले अपनाउँदै आएका आधुनिक जीवन शैलीको तौर तरिकामा जन्मदिन मनाउने परम्परात हेर्दा संस्कृतिकरणको निकै राम्रो उदाहरण भेटिन्छ ।

हाम्रो समाजमा साइतको दियो, कति मूल्यवान हुन्छ, तर जन्मदिनको मैनवत्ती सजिलै निभाइन्छ । क्रिश्चियन धर्मावलम्बीहरुको यो संस्कारले निक्कै ठूलो संस्कृतिकरण गरेको छ, विश्वका अन्य सबै धर्महरुमा । पछिल्लो समय अर्थात् ‘मिलिनियन’ पछि विश्वमा एक भिन्न संस्कृतिको जन्म भएको छ ‘लिभिङ टुगेदर’ को । यो संस्कार यसरी विस्तार भयो कि यसले एक दशक नबित्दै विश्वव्यापी रुप लियो । यतिखेर यो नेपालमा पनि देख्नमा आएको छ, यद्यपि हाम्रो समाजमा यसलाई आत्मसात गर्ने सन्दर्भले ठूलो विवादको रुप लिएको छ । सँगै बस्ने दुई विपरित लिङ्गी र समान लिङ्गी बीचको फरकलाई नेपाली समाजले प्रश्न चिन्ह लगाउन थालेको छ । ‘लिभिङ्ग टुगेदर’ कतै सहि कतै गलत अर्थमा छलफल र टिका टिप्पणीमा पर्न थालेकाले यसलाई अपनाउँदै आएका जोडीहरुले आपत्ति दर्शाउन थालेको छ ।

के हो त ‘लिभिङ टुगेदर’ संस्कृति भन्ने प्रश्नको सजिलो जवाफ छ ‘सँगै बस्ने’ । हाम्रो नेपाली मौलिक समाज र त्यसभित्र महिला पुरुषको अस्तित्वको सवालमा ‘लिभिङ टुगेदर’ छाडापनको एउटा दोषारोपणबाट ग्रसित छ भने अर्को विचार र चेतनाको स्वतन्त्रताबाट प्रभावित छ । सँगै बस्नुको अर्थ हुन्छ मन मिल्नु, विचार मिल्नु, कामको महत्वलाई प्राथमिकता दिनु, आधुनिक बस्नु या समय सापेक्ष संकोचित विचारबाट अलि माथि आउनु, महिला पुरुष सम विकासको व्यवहारिकता खोज्दै जानु र विवाहको सामन्तवादी मुल्य मान्यता भन्दा फरक ढंगबाट जीवन चलाउनु । तर जे होस् दुई विपरित लिङ्गीहरु सँगै बस्नुलाई यौनका अनेक प्रश्नचिन्हले विवादको रुप लिएको पाइन्छ ।

एउटा छानामुनी एउटै कोठामा सँगै बस्नुलाई नेपाली समाजले पचाउन नसकेको एउटा मात्र कुरा हो, त्यहाँ ‘यौन उन्मुक्ति’ ले प्रश्रय पाउनु । पुरुषको सवालमा भन्दा महिलाको सवालमा ‘आपत्ती’ मानिदै आएको ‘लिभिङ टुगेदर’ संस्कारले पछिल्लो समयमा परम्परावादी समाजलाई निक्कै ठूलो चुनौती दिएको छ । यौन विषयमा अल्झिरहने हो भने न त महिलाको व्यक्तित्वको विकास हुन्छ न त समाजले समय सापेक्ष गति लिन सक्छ भन्ने एकथरीले अर्को थरीको ‘छाडापन’ को जवाफ दिएको छ । तर ‘सँगै बस्नु’ लाई सहजरुपमा नलिनेहरुले यसलाई विकृतिको एउटा उदाहरणका रुपमा लिएका छन् । यौनका विभिन्न मर्यादा र महत्वको खिल्ली उडाइनु र पूर्वीय समाजको सन्दर्भ जोडेर ‘लिभिङ टुगेदर’ महिलाका हितमा नरहेकोले यो जहिले पनि पुरुषका हितमा मात्र लागू हुने विचार अघि सारेका छन् ।

विवाह पछि सँगै बस्नु, जीवनको एउटा निश्चित नाता कायम गर्नु, बच्चा जन्माउनु, वंशमाथि गर्व गर्नु, सन्तानको सुख खोज्नु, आफ्नो खुशी पोख्ने एउटा पवित्र स्थान परिवारवादको इतिहास बन्नु आफैमा मानवीय महत्व बोकेको छ । जब विवाह पछि सँगै बस्ने वातावरण मिल्दैन भने त्यसलाई परित्याग गर्ने संस्कार अब नौलो छैन । तर ‘लिभिङ टुगेदर’ के साँच्चै महिलाका सवालमा सहज छ त ? गहिरिएर सोच्ने हो भने, सँगै बस्नुले जीवनको एउटामात्र उद्देश्य निर्धारण गरेको हुन्छ, निश्चित स्वार्थ ! पश्चिमा समाजले यौन विषयलाई गौण ठाने जस्तै हामी यसलाई यति सजिलै गौण मान्न सक्दैनौं । नेपाली महिला आफ्नो कुमारीपन (भर्जिनिटी) माथि गर्व गर्छन् तर पश्चिमाहरु आफूलाई अझै पनि ‘भर्जिन’ भएको अवस्थामा पीडाबोध गर्छन् । परम्परागत यस तथ्यमाथि यतिखेर वास्तवमै पक्कै केही परिवर्तन देखा परेको छ ।

सहशिक्षा, सहअस्तित्व र सहविकासको प्रतिस्पर्धाले महिला–पुरुष लिङ्ग भन्दा बढी क्षमतामाथि विश्वास गर्ने भएकाले ‘यौन विषय केही होइन’ भन्ने सन्दर्भमा विवाद नै नगर्ने पक्षमा छन् । यतिखेर ‘लिभिङ टुगेदर’ उच्च शिक्षाका लागि विदेशिने युवाहरुमा बढी देखिन थालेको छ । आर्थिक स्वतन्त्रता, आफू खुशी जीवन जिउने प्रयास या रहर या बाध्यता ! तर पनि सँगै वस्नुको अर्थ खुल्ला यौन व्यवहार हो भन्दा फरक पर्दैन । यो निश्चित रुपमा विवादबाट मुक्त छैन । सम्बन्धको आधार प्रष्ट हुन नसक्दा सँगै बस्नेहरु बीच भावनात्मक सम्बन्धको अर्थ रहन नसकेको प्रष्टिन्छ । महिलाका हितमा हेर्दा ऊ दयाको पात्र बनेको ठानिन्छ ।

आर्थिक रुपमा सक्षम महिला अनिश्चित सम्बन्धका कारण मानसिक रुपमा विचलित हुने सम्भावना बढी रहेको हुन्छ । सामाजिक संरचना, पुरुषप्रधान भएको हुँदा ‘लिभिङ टुगेदर’ महिलामाथि ‘यौन शासन’ जमाइरहने अर्को षडयन्त्ररुपी संस्कार हो भन्दा फरक पर्दैन । केही वर्ष सँगै बसेका जोडी माथि समाजको निगरानी रहेको हुन्छ । त्यो पुरुषका लागि हुँदैन र महिलाका लागि पुनर्जीवन सुरु गर्ने अर्को वातावरण नै बन्न नसक्ने गरी पच्छ्याइरहन्छ । अन्ततः नेपालमा यौन कथित बर्जित विषय भएकाले त्यस किसिमबाट जीवन जीइरहेका महिलालाई ‘वेश्यावृत्ति’ को संज्ञा पाइएको छ । तर युवा पुस्ता यसलाई समयको माग भन्छन् ।

एक चुट्की सिंदुर भित्र महिलाले सम्पूर्ण जीवन समर्पण गरिनुपर्ने नेपाली वैवाहिक सम्बन्धलाई एउटा चुनौती हो ‘लिभिङ टुगेदर’ । तर के यो महिलाका पक्षमा छ त ? शत प्रतिशत यो पुरुषका पक्षमा मात्र छ । यद्यपि केही महिला यसलाई मान्दैनन् र भन्छन्– ‘यौन विषय पनि अब पुरुषको पक्षबाट मात्र हेरिनु हुँदैन, त्यहाँ महिलाको यौन अधिकारको अर्थ पनि खोजिनुपर्छ ।’

विवाह अघिको यौन अधिकारको विषयमा हाम्रो समाज पक्कै पनि उदार छैन । आधुनिक जीवन जिउने भ्रममा यो प्रसंगले कहीकतै राम्रै प्रभाव पारेको भएपनि समाजभित्र यसलाई विकृति मानिएको छ । ‘सँगै रहनु’ लाई समाजले सम्बन्धको नाम खोजेको हुन्छ । सम्बन्धको अर्थ नरहेको सम्बन्ध ‘नाजायज’ मानिएको छ । जायज सम्बन्धमा समाजले महिलाको अत्यन्त आदरभाव राख्छ । जब सम्बन्ध ‘नाजायज’ अर्थात नाम नखुलेको या भ्रमपूर्ण या रहस्यमयी ठहर्छ भने महिलालाई सबैभन्दा पहिले ‘चरित्रहिन’ बनाइन्छ । ऊ बौद्धिक, शिक्षित, दयावान, भलाद्मी सबैथोक हुँदाहुँदै पनि नैतिक चरित्र खासगरी यौन विषयका कारण घुणाको पात्र बाहेक केही बन्न सक्दिन ।

ऊ पुरुषको ‘भोग्यावस्तु’ मात्र बन्छे । र ‘लिभिङ टुगेदर’ उसका लागि जीवन जिउने सहज बाटो होइन, अत्यन्त घातक परिणाम दिने क्षणिक सुखभोग मात्र बन्छ । जुनसुकै सन्दर्भ जोडे पनि आखिर हाम्रो समाज पितृसत्तात्मक नै छ । घरमा बुबा सबैभन्दा आदरणीय व्यक्ति हुन्छ अनि मात्र आमाको पालो आउँछ । यस यथार्थलाई समाजशास्त्रले बताएअनुसार समयको अन्तराल मा सबै कुरा सहज हुँदै जान्छ भन्ने प्रसंग जोडिन पुग्छ । ‘लिभिङ टुगेदर’ संस्कार पचाउन पक्कै पनि समय पर्खिनुपर्छ । संस्कार स्वीकार मात्रको सवाल छोड्ने हो भने ‘लिभिङ टुगेदर’ के महिलाको हितमा होला ? के यो महिलाको हितमा रहेको छ ? हालमा छदै छैन, तर पनि समाज परिवर्तनसँगै विचारमा आएको परिवर्तनले यो महिलाको हितमा हुनसक्ला भन्ने कहीँ कतै संकेतहरु देखिन थालेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..