
काठमाण्डौ। फिल्मको व्यवसाय दिन प्रतिदिन घाटामा जान थालेपछि हिजोआज निर्माता निर्देशक प्रचारका लागि फरक फरक तरिका अपनाउन थालेका छन् ।
यस्तैमा हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफूले निर्माण गरेको ‘सेन्टी भाइरस’को प्रचार ५० हजार सवारीमा फिल्मको पोस्टर टाँसेर गर्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात समेत गरे ।
सो अवसरमा कट्टेल र अभिनेता बुद्धि तामाङलगायतले ट्याक्सीमा दर्जनभन्दा बढी पोस्टर टाँसेका थिए ।
कार्यक्रममा कलाकार सीतारामले फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खचिर्ने घोषणा गरे । दर्शकलाई एक पटक फिल्म हेरिदिन आग्रह गर्दछु’ सीतारामले भने ‘फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ ।’ कार्यक्रममा कट्टेलले आफ्नो फिल्मको पोस्टर नेपाल यातायात व्यवसायी महासङ्घले देशभरका ५० हजारभन्दा बढी सवारीमा टाँस्ने जानकारी दिए ।
आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ ।शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको फिल्म निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।
धुर्मुस र सुन्तली यस चलचित्रबाट सफलता हात पार्नेमा विस्वस्त छन् । यो चलचित्रले नेपाली दर्षकलाई हलसम्म तान्न सक्ने हो की होईन् हेर्न भने वाँकीनै छ ।