नवराज बस्नेत ताराको नयाँ अवतार, ह्वीलचियरबाट सिर्जना र समाजसेवा (भिडियोसहित)

नवराज बस्नेत तारा ह्वीलचेयरमा यात्रा गर्छन् । उनलाई कतै जान सहयोगी आवश्यक पर्छ । घरमा पनि उनी ओछ्यानमै हुन्छन्। तैपनि ह्वीलचियरबाटै भए पनि सिर्जनको दुनियामा विचरण गरिरहेका छन्। उनले आफ्नो कमजोरीलाई सिर्जनशीलता र समाजसेवामा लगाएर शक्तिमा परिवर्तन गरेका छन् । त्यसैले त उनमा झनै ऊर्जा थपिँदो छ।

सुरुमै ह्वीलचियरमा कुरा गरे पनि नवराजको यो अवस्था जन्मजात भने होइन। उनी पनि सामान्य किशोरहरु जस्तै गाउँघर चहार्थे, साथीसंगीसँग खेल्थे र रमाउँथे । सानैदेखि समाजसेवा र सिर्जनामा रुची राख्ने नवराज स्कुले जीवनको फलामे द्वारा मानिने प्रवेशिका परीक्षाको तयारीमा थिए। प्रवेशिका अर्थात एसएलसी परीक्षा पास गरेर रमाउँदै उच्च शिक्षा हासिल गर्ने र देशको सेवा सपना उनको भनमरि थियो । तर, २०५८ साल माघ १९ गते कसैले कल्पना पनि नगरेको बज्रपात भयो ।

देश द्वन्द्वमा थियो । बिहान घर छाडेको परिवारको सदस्य घर फर्कने हो कि होइन भन्ने स्थिति थियो। संकटकालका कारण मुलुक अस्तव्यस्थ थियो। यो बेला कति ‘साढेको जुधाई बाछाको मिचाई’मा परे ।त्यस्तै एक जना बन्न पुगे नवराज बस्नेत तारा पनि ।

पिता कर्णबहादुर बस्नेत र माता डम्मरकुमारी बस्नेतको कोखबाट २०४० साल साउन २ गते सोलुको अहिलेको दुधकुण्ड गाउँपालिका–११ तिङ्ला तारागाउँमा जन्मिएका नवराज बस्नेत ताराका पिता सेनामा थिए । त्यसैले सेना र तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताको आवत जावत बाक्लै हुन्थ्यो । यही क्रममा २०५८ माघ १९ गते विद्रोही र राज्य पक्षको जम्काभेटले नवराजको जीवनलाई नै अँधेरोतिर धकेलिदियो । विद्रोही र राज्यपक्षको उपस्थितिले गाउँमा झडपको स्थिति सिर्जना भयो । गाउँ स्तब्ध थियो । यही क्रममा दुर्घटनाबस लड्दा नवराजको मेरुदण्डमा गम्भीर क्षति पुग्यो ।

धन्न पिता सेनामा थिए, त्यसैले घटनाको भोलिपल्टै उनलाई राजधानी ल्याइयो र उपचार सुरु गरियो । तर, उनको क्षतिग्रस्त मेरुदण्डले काम गरेन । उनको शरीरका अधिकांश भाग नचल्ने भए ।

नवराजका मनभरि नयाँ नयाँ सपनाका चाङ थिए । अस्पतालको शैयामा कुँजिएका नवराजका सपनाहरु मनमस्तिष्कमा उद्धेलित हुन्थे । अस्पतालको शैयामा नवराजले सबै कुरा खाए तर हरेश कहिल्यै खाएनन् । आशक्त शरीरबाट उत्पन्न हुने कमजोरीलाई उनले सपनाको ऊर्जा भरे । त्यसैले उनले अस्पतालको शैयाबाटै अध्ययन र सिर्जनाशीलताको कुलोलाई समुद्रतिर निरन्तर प्रवाह गरिरहे । उनले उच्च शिक्षाको तिर्खा मेट्न अध्ययन पनि जारी राखे । अहिले उनले राजधानीको आरआर क्याम्पसबाट स्नातक गरिसकेका छन्।

शरीरले उनलाई अस्पतालको शैयामा कैद गरे पनि उनको दिमाग ब्रम्हाण्ड चहारिरह्यो । विवशतालाई उनले सिर्जनाको माध्यमबाट पराजित गरिरहे । यही सिलसिला जारी रहँदा २०६७ सालमा नवराजको औपचारिक एल्बम हार्दिक अनुरोधको जन्म भयो । त्यसअघि पनि उनका सिर्जनाहरु स्रोत,पाठकमाझ नआएका होइनन् तर, हार्दिक अनुरोध भने उनको औपचारिक एल्बम थियो ।

त्यसो त नवराज ह्वीलचेयर र ओछ्यानमै रहे पनि चित्रकारितामा पनि रुची राख्छन् । यसबायक गाउन र लेखन उनको अभिव्यक्ति प्रकट गर्ने मुख्य माध्यम हुन् । त्यसयता उनका धेरै सिर्जनाहरु नेपालीमाझ आइसकेको छ। उनी कहिले जिल्ला चिनाउन लागिपरेका छन् त कहिले कुल र वंश हित र उत्थानका लागि दोडिरहेका छन्। त्यसैले त उनले सिर्जनामार्फत हुने गरेका आम्दानीहरु पनि समाज सेवामा समर्पित गर्ने गरेका छन् ।

सिर्जना जगतमा उदाउँदै गरेका नवराज बस्नेत तारालाई हामीले उनकै निवास पुगेर भेट्यौ । नवराजकी ममतामयी आमा डम्मर कुमारी बस्नेतको हातबाट चिया पियौ । पिता कर्णबहादुर बस्नेतको आत्मीय सत्कार पायौ ।

नवराज ओछ्यानबाट उठ्न सकेका थिएनन् । तैपनि उनी हामीसँग कुरा गर्न राजी भए । त्यो पनि भिडियो कुराकानी, ओछ्यानमै सुतेर । उनले कुराकानी गर्दै जाँदा भने–जीवन संघर्ष रहेछ, फरक त परिस्थिति र परिवेश मात्र हो । हिम्मत हार्न हुन्न । आत्तिन र मात्तिन हुन्न ।
उनले आफ्नो यो अवस्थामा पनि स्याहार गरेर सिर्जनाको गोरेटोमा डोराउने आमाबुबा र सहयोगीलाई भगवानका रुपमा लिएको बताए । उनले भने–मेरा लागि उहाँहरु त भगवान नै हो ।

कुराकानीकै क्रममा नवराजले भने–दुर्घटनामा शरीर त यस्तो भएकै थियो, यहीमाथि मृगौलामा पत्थरी भयो ।त्यो अपरेशन गरेर निकालियो । अहिले भने मृगौलाको अवस्था ठिक छ।

हामी नवराजसँग कुरा गरिरहेका थियौ । नजिकै रहेका पिता कर्णबहादुर बस्नेतले पनि विगतका ती अध्यासलाग्दा दिनहरु सम्झिए । सुन्न पनि कठिन ती दिनहरु भोगेका कर्णबहादुर र नवराज दुवैमा जीवनप्रति देखिएको उत्साह र ऊर्जा भने लोभलाग्दो थियो । त्यसैले कुराकानीको अन्तिमतिर नवराजले भने–जीवनमा निराश होइन आशावादी हुनुपर्ने रहेछ। एउटा दुर्घटना वा दुःख जीवनको अन्त्य होइन, त्यसलाई अवसर र ऊर्जाका रुपमा लिएर अघि बढ्दा सफल भइन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..