म नारी

म नारी 1

म नारी 2

– बाबा बस्नेत

मैले दाउरा नजोड्दा
चूलो नबल्नु किन ?
मेरो पाखुरा गल्दा
दाल नगल्नु किन ?

कुन धर्मशास्त्रले भनेको छ
बताउ न मलाई
जिरा खुर्सानी
मैले पिसे मात्र पिसिन्छ
डाडुपनिउ
मैले चलाउदा मात्र चल्छ !

मेरै समय घोलिएर
स्वादिष्ट बन्छ भान्छा !
मैले मस्काएर मात्र
टल्किन्छन् भाँडाकुँडा…

कुन संविधानको
कुन धारा-उपधारा
लेखिएको छ यस्तो
भन न मलाई ?

उस्तै गर्भ
जन्म उस्तै
उस्तै पालनपोषण
सबैथोक उस्तै
फरक यत्ति हो
तिमी पुरुष
म नारी !

थकाई एउटै,
उस्तै हो भोक निन्द्रा
उस्तै मान्छे हौं हामी

तिमीलाई पूर्ण पार्न
कति म आधी बन्नु !

न पूरा हुन्छ तिम्रो रिक्तता
म बिना
न पुरा हुन्छ मेरो रिक्तता
तिमीबिना
फेरि कहिलेसम्म
एकआपसमा हामी
बादी-प्रतिबादी बन्नु ?

तिमीसितै म
हवाईजहाज उडाउन सक्छु
रेल गुडाउन सक्छु
बुट बजार्दै रणभूमिमा
परेड खेल्न सक्छु
के गर्न सक्दिन र तिमीले जस्तो
अनि म
फरक भएँ ?

तिमीले जस्तै
सबैथोक मैले गर्न सक्छु
बराबरी श्रमको भारी बोक्न सक्छु
दुःखको बाढी रोक्न सक्छु
त्यसैले मलाई लाग्छ
मैले जस्तो तिमीले पनि गर्न सक्छौ !

म नजाग्दा
बिहान नजाग्नु किन ?
म नचल्दा साँझ नहास्नु किन ?
तिमीले गर्ने काम गरेर
म महान् कहलिन्छु भने
मैले गर्ने काम गरेर
तिमी पनि महान् कहलिदेऊ न !

यो स्पष्ट गराई देऊ कि
फरक यत्ति नै हो हामीबीच
तिमी पुरुष
म नारी !

(२०७६ फागुन २५ गते, ११० औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस)

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..