२ वर्षको करार सम्झौतामा साउदी पुगेका ७ जना नेपाली युवा अलपत्र

काठमाडौ । ३३ महिना अगाडी काठमाण्डौको क्षितिज इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेडबाट २ वर्षको करार सम्झौतामा साउदी अरब पुगेका ७ जना नेपाली युवा अहिले अलपत्र परेका छन् ।

साउदीको जिद्धघिर्नियामा रहेको ग्लोबल म्यानीफेक्चरी कम्पनीसँगको सम्झौता ९ महिना अगाडीनै सकिएपछि उनिहरु अलपत्र परेका हुन् । रुपन्देही करौताका नागेन्द्र केवटसँगै अन्य सात जना नेपाली युवा अहिले साउदीमा घर फर्कने बाटो कुेरेर बसेका छन् ।

२ वर्षको करार सम्झौता अनुसार नै नेपाल फर्कने उनिहरुको चाहाना भएपनि ९ महिना बितिसक्दा उनिहरु घर फर्कन सकेका छैनन् । अहिले उनिहरुसँग साउदी अरबले कामदारलाई दिने परिचय पत्र अकमा पनि नहुदाँ थप असुरक्षा बढेको रुपन्देही करौताका विजय कुमार मुरावले दुखेसो पोख्नुभयो ।

७ जना मध्ये परिचयपत्र अकमा बिना हिडडुल गरेको आरोपमा साउदी प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । इमान्दारी पुर्वक करार सम्झौता पुरा गरी घर फर्कन खोज्दा कार्यरत कम्पनी र नेपालबाट पठाउने म्यानपावर कम्पनी सम्पर्कमा छैनन् ।

समस्या पर्दा साउदीमा रहेको नेपाली दुतावसले पनि सहयोग नगरेको दार्चुला मालिकार्जन गाउँपालिकाका केशव पालले बताउनुभयो । नेपालबाट १ लाखदेखि १ लाख २० हजार रुपैँयासम्म तिरेर उनिहरु बिस्कुट प्याकिङ्गको काममा साउदी पुगेका हुन् । तर उनिहरुलाई २ वर्ष सम्म सम्झौता विपरित मेसिनरी काम गर्न बाध्य पारिएको छ । अलपत्र पर्नेमा दार्चुला, पाल्पा, दाङ र रुपन्देहीका युवा रहेका छन् ।

अहिलेसम्म आफुलाई जानकारी नभएकाले पहल सुरु नभएको बैदेशिक रोजगार विभागका निर्देशक शशीकुमार बस्नेतले बताउनुभयो । उहाँले अहिले सीआइएनले आफुलाई जानकारी दिएकाले आजै कम्पनी र अलपत्र परेकाका आफन्तबीच छलफल गराएर उद्धार प्रक्रिया अघि बढाउने बताउनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..