प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्ने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत्र २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नु हुने भएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले ३ दिन भारतको राजकीय भ्रमण गर्ने औंपचारिक निर्णय गरेको हो । प्रधानमन्त्रीको भ्रमण दलमा रहने सदस्यहरुको संख्या भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले तय गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनु भयो ।

बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक र वेपत्ता पारिएका व्यक्तिको छानवीन सम्बन्धि प्रतिष्थापन विधेयक संसदमा टेबल गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रीपरिषद बैठकले भुक्तानी तथा फस्र्याैट विधेयकको सैद्धान्तिक अवधारणा पनि स्विकृत गरेको छ । भुक्तानीका लागि आवश्यक ऐन निर्माणका लागि अर्थ मन्त्रालयले तयार पारेको सो सैद्धान्तिक अवधारणा स्विकृत गरिएको पनि राज्यमन्त्री बास्कोटाले बताउनु भयो । सरकारले विधेयक तयारी सहजीकरण समितिको सदस्यमा पूर्व कानुन सचिव कमलशाली घिमिरेलाई नियुक्त पनि गरेको छ ।

त्यसैगरी न्यूजिल्याण्ड वाटर म्यानेजमेन्ट परियोजनाका लागि एशीयाली विकास बैंकले उपलब्ध गराउने १ अरव अनुदान सहायता लिने प्रस्ताव पनि अनुमोदन गरिएको छ । विभिन्न परीक्षाहरु समेत चालू रहेकाले असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रुपमै संचालन गर्ने अन्तरिम व्यवस्था पनि सरकारले गरेको छ ।

चालू बजेट, नीति र कार्यक्रम भित्रै रहेर असार मसान्तसम्म जिल्ला शिक्षा कार्यालय भने यथावत रहने निर्णय गरिएको पनि राज्यमन्त्री बास्कोटाले बताउनु भयो । अन्य संरचना भने आगामी चैत्र २८ गतेबाट खारेज हुनेछ ।

सरकारले नेपाल विकास समिति गठन आदेश पनि स्विकृत गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..