के मन्दिर तथा मूर्ति पूजा हिन्दू धर्मको अभिन्न अंग हो ?

ॐ यो भूतं च भव्यं च सर्व यश्चाधितिष्ठति । स्वर्यस्य च केवलं तस्मै ज्येष्ठाय ब्रह्मणे नमः ।। अथर्ववेदको यो ऋचाको अर्थ हो- जो भूत, भविष्य एवं सबैमा छाएको छ, जो दिव्यलोकको पनि अधिष्ठाता हो त्यो ब्रह्मलाई प्रणाम छ । उही नै हामी सबैका लागि प्रार्थनीय एवं वन्दनीय छ ।

वैदिक कालमा न मन्दिर थिए न त मूर्ति नै । वैदिक समाजका मानिसहरू एक ठाउँ (वेदी वा प्रार्थना स्थल) मा जम्मा भएर ब्रह्म वा परमेश्वरप्रति आफ्नो समर्पण भाव व्यक्त गर्थे । यसबाहेक उनीहरू यज्ञ मार्फत पनि ईश्वर एवं प्राकृतिक तत्वहरूको आवाहन तथा प्रार्थना गर्दथे ।

शिवलिंगको पूजा पौराणिक कालबाट सुरु भएको हो । शिवलिंगको पूजापश्चात् पछि क्रमशः नाग एवं यक्षको पूजा गर्ने प्रचलन हिन्दू तथा जैन धर्ममा बढ्न थाल्यो । बौद्ध कालमा बुद्ध तथा महावीरको मूर्तिले व्यापक जनसमर्थन प्राप्त गरेपछि हिन्दूहरूले पनि राम तथा कृष्णको मूर्ति बनाउन थाले ।

यजुर्वेदमा भनिएको छ, न तस्य प्रतिमा अस्ति यस्य नाम महद्यशः ।।

अग्नि उही हो, आदित्य पनि उही नै हो, वायु, चन्द्र तथा शुक्र पनि ऊ नै हो भने जल, प्रजापति एवं सर्वत्र उही व्याप्त छ । उसलाई प्रत्यक्ष देख्न सकिँदैन । उसको कुनै मूर्ति छैन । उसको नाम नै अत्यन्त महान् छ । ऊ नै सबै दिशामा व्याप्त भएर रहेको छ ।

केनोपनिषदमा भनिएको छ- हामी जुन कुनै मूर्त वा अमूर्त रूपको पूजा, आरती, प्रार्थना वा ध्यान गर्छौं ऊ ईश्वर होइन, ईश्वरको स्वरूप पनि होइन । मानिस, पशु, पक्षी, रुख, नदी, पहाड, आकाश आदि जुन-जुन कुरा हामी देखिरहेका छौं, संगीत, मेघ गर्जन, खोलाको ध्वनि आदि जे जे हामी सुन्छौं अनि जे जे कुरा हामी इन्दि्रयद्वारा अनुभव गर्छौं, महनुस गर्छौं तीमध्ये कुनै पनि कुरा ईश्वर होइनन् तर ईश्वरद्वारा नै हामीलाई देख्ने, सुन्ने, सुँघ्ने, श्वास लिने आदि शक्ति प्राप्त हुन्छन् । यसरी जान्नेहरूले नै निराकार सत्यलाई मान्दछन् । यही नै सनातन सत्य हो ।

के कुरा स्पष्ट छ भने वेदका अनुसार न त ईश्वरको कुने प्रतिमा वा मूर्ति छ, न त उसलाई प्रत्यक्ष देख्न नै सकिन्छ । कुनै पनि मूर्तिमा ईश्वरको बास हुने वा ईश्वरको प्रत्यक्ष दर्शन हुने कुरा वेदसम्मत छैन । जुन कुरा वेदसम्मत छैन त्यो धर्मविरुद्ध हुन्छ । वैदिक सनातन धर्मावलम्बीहरूका लागि वेद नै संविधान हो भने अन्य शास्त्रहरू कानुन । संविधानसँग बाझिएका हदसम्म कानुन स्वतः निष्फल हुन्छन्् ।

मन्दिरको अर्थ

मन्दिरको अर्थ हुन्छ- मनदेखि टाढा कुनै स्थान । मन्दिरलाई द्वार पनि भनिन्छ, जस्तो रामद्वारा, गुरुद्वारा आदि ।

मन्दिरलाई आलय पनि भनिन्छ, जस्तो शिवालय, देवालय, जिनालय आदि । जब हामी भन्छौं कि मनदेखि टाढा जुन छ त्यही मन्दिर । तब यसको अर्थ नै परिवर्तन हुन्छ ।

द्वारा कुने भगवान्, देवता वा गुरुको हुन्छ । आलय केवल शिवको हुन्छ भने मन्दिर वा स्तुप केवल ध्यान वा प्रार्थनाका लागि हुन्छ तर अहिले ती सबै स्थानलाई मन्दिर भनिन्छ जहाँ कुनै पनि देवमूर्तिको पूजा हुने गर्छ ।

मन्दिरको परिभाषा

मनदेखि टाढा रहेर निराकार ईश्वरको आराधना वा ध्यान गर्ने स्थानलाई मन्दिर भनिन्छ । जसरी हामी मन्दिर प्रवेश गर्दा जुत्ता बाहिरै फुकाल्छौँ त्यसैगरी मन तथा अहंकारलाई बाहिरै छाडेर प्रवेश गरिन्छ । जहाँ देवताको पूजा हुन्छ त्यसलाई देवस्थल वा देवथान भनिन्छ । पूजा गरिने ठाउँ पूजास्थल तथा प्रार्थना गरिने ठाउँलाई प्रार्थनालय भनिन्छ । जसले वेदको मर्म बुझेको छ उसलाई थाहा हुन्छ- भगवान् प्रार्थनाले खुसी हुन्छन् पूजाले होइन ।

वास्तु रचना

मन्दिरको वास्तु रचना पनि ईश्वरलाई समर्पण भाव व्यक्त गर्दा मन एकाग्र हुन सकोस्, यताउति धेरै नडुलोस् भन्ने हिसाबले गरिएको हुन्छ । प्राचीन समयका मन्दिरहरूलाई हेरेर उक्त कुराको सहज अनुमान लगाउन सकिन्छ । प्राचीन मन्दिरको आकार पिरामिडजस्तो हुने गथ्र्यो । ऋषिमुनिहरूको कुटी पनि त्यस्तै आकारका बनाइन्थे । प्राचीन कालमा घरका छानाहरू पनि त्यस्ते आकारका हुने गर्थे । पछि रोम, चीन, अरब एवं युनानी वास्तुकलाका प्रभावले मन्दिरको वास्तु पनि परिवर्तन हुन थाल्यो ।

प्राचीन कालका मन्दिर पूर्व, उत्तर वा ईशानमुखी हुन्थे । मन्दिर उत्तर वा ईशानमुखी हुनुको कारण के हो भने ईशानबाट आउने ऊर्जाको प्रभावले ध्यान तथा प्रार्थनाका लागि उत्तम वातावरण निर्माण गर्छ । पूर्वमुखी मन्दिरमा भने त्यसको द्वार तथा गुम्बजमा विशेष ध्यान पुर्‍याइन्थ्यो ।

प्राचीन कालका मन्दिर ध्यान एवं प्रार्थनाका लागि हुन्थे । मन्दिरका स्तम्भ तथा भित्ताहरूमा मूर्तिहरू टाँसिएका हुन्थे । मन्दिरमा पूजापाठ हुँदैनथ्यो । ध्यान तथा प्रार्थना गर्ने जमात पूर्ण रूपले निखि्रएपछि तिने मन्दिरमा पूजापाठ हुन थाले । पूजापाठको प्रचलनसँगै मनोमानी किसिमले मन्दिरहरू बनाइन थालियो । मनोमानी किसिमले बनेका तथा मनोमानी ढंगका पूजापाठ हुने मन्दिरका कारण मनोमानी पूजा, आरती तथा कर्मकाण्ड विकसित भए जसलाई वेदसम्मत मान्न सकिँदैन ।

मन्दिर बनोस् प्रार्थनास्थल

वैदिक सनातन धर्मको जानकारहरूका अनुसार त्यो मन्दिरको महत्व छ जहाँ सामूहिक रूपले प्रात एवं सायं सन्ध्या कालमा एउटै निश्चित समयमा ध्यान तथा प्रार्थना गरिन्छ । मन्दिरमा मूर्तिकै पूजा भए पनि एउटै हलमा हजार पाँच सय मानिस एकैपटक उभिएर प्रार्थना गर्न सकिने हुनुपर्छ । परमेश्वरको प्रार्थनाका लागि वेदमा केही ऋचाहरू दिइएका छन् तिनलाई याद गरिनुपर्छ । प्रार्थना सकेसम्म समवेत हुनुपर्छ ।अनलाइन खबरबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..