नेपाललाई जलमार्गमा जोड्न ओली–मोदी सहमत, नेपालको जहाज चल्ला त ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेपाललाई जल र रेलमार्गले जोड्न सहमत हुनुभएको छ ।

तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताउनुभयो ।

मोदीले औपचारिक वार्तामा नेपालका नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गर्नुभयो । त्यस्तै मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताउनुभयो ।

तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला दुई वर्षमा नेपाल बदलिएको टिप्पणी गर्नुभयो ।

हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले दुई वर्ष अघिको आफ्नो भारत भ्रमणको समेत स्मरण गर्नुभयो । ओलीले नेपालले संक्रमणकाल पूरा गरेको र आर्थिक विकासको चरणमा प्रवेश गरेकाले साथीहरूको साथ चाहिएको बताउनुभयो ।

ओलीले रेल र जलमार्गबाट नेपाल जोड्ने मोदीको भनाइमा खुसी व्यक्त गरे। उनले नेपालको जलविद्युतका लागि लगानी आवश्यक रहेको बताउनुभयो । ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिनुभएको थियो ।

संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले भारतको मोतीहारी र नेपालको अमलेखगञ्ज जोड्ने पाइपलाइन र वीरगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..