भन्न पनि लजाउने महिलाहरु यसरी लागे बनाउन

काठमाडौ । प्राकृतिक नियम अनुसार हुने महिनाबारीको कुरा भन्न समेत लजाउने महिलाहरु आजभोली घरेलु सेनिटरी प्याड बनाउने काममा सक्रिय हुन थालेका छन् ।

विकास र आधुनिकताको नाममा रुपान्तरण हुँदै गएको जीवनशैलीले खर्च बढाउनुको साथै विभिन्न किसिमका स्वास्थ्य समस्या निम्तिन थालेपछि महिला सेनिटरी प्याड बनाउन काममा सक्रिय भएका हुन् ।

बजारमा विभिन्न कम्पनीले ल्याएका प्याड प्रयोग गर्दा सजिलो त हुन्छ नै तर त्यसले छाला तथा पाठेघरसम्मको इन्फेक्सन गराउनुको साथै खर्च पनि बढाउने भएपछि आफुहरु घरेलु प्याड बनाउन सक्रिय भएको उनीहरुको भनाइ छ । नहुँदाको प्राविधिक सहयोगमा किर्तिपुर नगरपालिकाले संचालन गरेको सेनिटरी प्याडको उपयोग, तयारी र प्रयोग सम्बन्धी तालिममा महिला निसंकोच सहभागी भएका छन् ।

घरेलु सेनेटेरी प्याड सफा गरेर पुन प्रयोग गर्न सकिने भएकाले वातावरण प्रदुषण कम गर्नुको साथै विभिन्न किसिमका छालाका इन्फेक्सनबाट जोगिन मद्द्त गर्ने बुझाई उनीहरुको छ । कतिपय सहभागी यो सीपलाई आय आर्जनको स्रोत बढाउनका लागि प्रयोग गर्ने योजनामा पनि छन् ।

प्रशिक्षक पूर्ण माया श्रेष्ठ घरैमा उपलब्ध साना साना कपडाका टुक्रा प्रयोग गरेर बनाउन सकिने भएकाले घरेलु सेनेटेरी प्याड किफायति, सजिलो र स्वस्थ्यकर हुने बताउनुहुन्छ ।

उपभोक्ता पनि महिला नै भएकाले तालिम लिएका महिलाले सेनिटरी प्याड बनाउने सिपलाई आयआर्जनको माध्यम बनाउने विश्वास नगरपालिकाले लिएको छ ।

नयाँ संरचना अनुसार स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने तालिम संचालन गर्नु सकारात्मक छ । साथै यस्तो तालिममा बढ्दो महिला सहभागिताले चेतनाको स्तर वृृद्धि गरेको पनि प्रमाणित गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..