सरकारको श्वेतपत्र चुनावी एजेन्डा स्थापित गर्न ल्याएको काँग्रेसको आरोप

काठमाडौ । नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्र चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानबाट आएको आरोप लगाएको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन मार्फत श्वतपत्रबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले राज्यले हालसम्म गरेका समस्त आर्थिक उपलव्धिलाई नकार्ने र शुन्यबाट समृद्धिको शुरुवात गर्न लागेका हौ भन्ने भ्रम स्थापित गर्न खोजेको जनाएको हो ।

२०४६ सालको परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले हासिल गरेको उच्च आर्थिक वृद्धि अरु कुनै सरकारले गर्न नसकेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले सार्वजनिक गरेको श्वेतपत्र झुटको खेती भएको टिप्पणी गर्नुभयो ।

अर्थमन्त्री युवराज खतिवडाले राज्यको ढुकुटी रित्तिएको भन्दै जारी गरेको श्वेतपत्रलाई कांग्रेसले प्रोपोगान्डाबाट प्रेरित रहेको बताएको छ । खर्च हुन नसकेको पुँजीगत रकम थुप्रिएको, स्थानीय तहलाई छुट्याएको रकम बाँकी रहेको, विदेशी मुद्राको सञ्चिति रहँदा समेत अघिल्लो सरकारले रित्तो ढुकुटी सुम्पिएको भनेर वर्तमान सरकारले देखाउन खोजेको कांग्रेसको आरोप छ ।

कांग्रेसले अर्थतन्त्रको सकारात्मक पाटोको उपेक्षा गर्दै कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुतिबाट चरम निराशा विस्तार गर्न खोजिएको आरोप समेत लगाएको छ । पत्रकार सम्मेलनमा काँग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयमा चूनौति रहेको बताउनुभयो ।

उहाँले नेपाल भारत सम्बन्ध सदियौदेखि नै राम्रो रहेको भन्दै यसपटकको भ्रमण प्रधानमन्त्री केपीओली र भारतविचको सम्बन्ध सुधारको प्रयत्न मात्र भएको टिप्पणी गर्नुभयो ।

काग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण व्यवसायीमैत्री नभएको ठहर समेत गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..