कोरोना संक्रमण झनै बढ्यो, आज मात्र १०९ जना संक्रमित फेला

काठमाडौं । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या झनै बढेको छ। आज प्रदेश २ मा ७६, कर्णालीमा ८ र प्रदेश १ मा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

नेपालमा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउनुहुन्छ ।

प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टिन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ ।

स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टिन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टिन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए । अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टिनमा चार हजार ९०३ रहेका उहाँले बताउनुभयो ।

त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन श्यया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले सङ्क्रमित सबै दैलेखको नारायण नगरपालिकाका रहेको जानकारी दिनुभयो । । सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नं १ का २६ वर्षीय पुरुष, ३ का १९, ३०, ३७ र ४० वर्षीय पुरुष, ४ का एक वर्षीय बालक र २० वर्षीया महिला तथा ५ का १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

बुधबार सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका थिए । भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् ।

हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।

त्यस्तै झापामा बिहीबार थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उनले बताए ।

कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ जना पुगेको हो । कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..