कोरोना भाइरस सबैलाई अभिशाप तर यो जोडीका लागि बरदान, २१ वर्षपछि भयो मिलन

कोरोना भाइरस सबैलाई अभिशाप तर यो जोडीका लागि बरदान, २१ वर्षपछि भयो मिलन 1

नयाँ दिल्ली । कोरोना भाइरसका कारण विश्वभर जारी लकडाउनका कारण मानिसहरुलाई कैयौं समस्यासँग सामना गर्नु परिरहेको छ । दुःख, सास्तीसँग जुधिरहनु परेको छ र यो विश्वका लागि नै अभिशाप सावित भएको छ । तर, त्यही कोरोना भाइरस र लकडाउन कसैका लागि बरदान र खुशीको बहार ल्याउने माध्यम बनेको सुन्दा अचम्म लाग्नसक्छ । यद्यपि भारतमा त्यस्तै भएको छ ।

भारतको पश्चिम बंगाल आसनसोलको बाँध इलाकामा बसोबास गर्ने ४२ वर्षीया महिला उर्मिला देवीलाई खुशीको कुनै सीमा रहेन । किनकि उनलाई २१ वर्षपछि आफ्ना श्रीमान सुरेशप्रसाद भेटिएका थिए ।

उर्मिला देवीका अनुसार उनका श्रीमान बेलुकीपख नास्ता गरेपछि घुम्न जान्छु भनेर निस्केका थिए तर कहिल्यै फर्किएनन् । केही वर्षपहिले श्रीमान सुरेशप्रसादले पठाएको चिठी आएको थियो । जसमा लेखिएको थियो, ‘म दिल्लीको चाँदनीचोकमा छु । मलाई खोज्ने कोशिस नगर्नू ।’ उर्मिलाका दुई छोरी र दुई छोरा छन् । दुबै छोरीहरुको विवाह पहिले नै भइसकेको छ । बाँकी दुई छोराहरुको अध्ययन चलिरहेको छ । साथमा छोराहरुले पार्टटाइम जागिर गर्दै घरव्यवहार चलाउँदै आएका छन् ।

अचानक शिरबाट श्रीमानको छायाँ हटेपछि श्रीमती उर्मिला देवी पूर्णतः थकित भइसकेकी थिइन् । तर पनि उर्मिलाले आफ्ना चार बालबच्चा हेरेर हिम्मत जुटाइन् । त्यसपछि धेरै संघर्ष गरेर उनले चारैजना बालबच्चाहरुको लालनपालन गरिन् । छोराछोरीलाई पढाइन्, लेखाइन् । उनले छोराछोरीहरुलाई यति सक्षम बनाइन् कि उनीहरुले आफ्नो जिम्मेवारी आफै बहन गर्नसक्ने भए । उर्मिलाले आफ्नो जिन्दगीमा अनेक कठिनाईहरुलाई झेल्दै दुई छोरीहरुको बिहे पनि गरिदिइन् । उर्मिलाले आफ्ना चारै बालबच्चाहरुलाई कहिल्यै पिताको कमी महसुस हुन दिइनन् ।

यसैबीचमा पनि उर्मिलाले पति सुरेशप्रसादको खोजी कार्यलाई पनि जारी राखिन् तर सफलता हात लागेन । उर्मिलाले बताएअनुसार श्रीमान सुरेशप्रसाद कुली, कबाडी र र रिक्साचालकको काम गर्थे । बिहीवार आसनसोलको कन्यापुरमा लकडाउनको अवधिमा दिल्लीबाट आसनसोल पुगेका मजदूरहरुलाई क्वारेन्टाइनमा भर्ना गरियो । यही समूहमा थिए सुरेशप्रसाद । प्रहरीले क्वारेन्टाइन सेन्टरमा रहेका मानिसहरुको पहिचान गर्दा सुरेशप्रसादको पहिचान बर्नपुर नर्सिङ बाँध क्षेत्रमा रहनेवालाको रुपमा गरियो ।

पति सुरेशप्रसादले आफ्नो कथा बताउँदा प्रहरीको पनि मन छोयो । सुरेशप्रसादले भने, ‘२१ वर्ष पहिले आफ्नो परिवारसँग बिछोडिएको हुँ ।’ उनले आफ्ना ४ बच्चा रहेको र उनीहरु श्रीमती उर्मिलाका रहेको बताए । तर, उनलाई परिवारसँग नमिलाएर क्वारेन्टाइनमा राखियो । उनको कहानी सुनेर प्रहरीले पनि उर्मिलालाई खोज्यो । र, उर्मिलालाई आसनसोलस्थित केएचएलजी अस्पतालमा ल्याइयो र श्रीमान सुरेशप्रसादसँग मिलन गरायो ।

श्रीमान र श्रीमतीका बीचमा मिलन त भयो तर यतिका वर्षपछि अनुहारमा आएको परिवर्तनका कारण एकछिन पहिचान कतै हराएजस्तो भयो । यद्यपि पारिवारिक परिचयनपछि नातामा लागेको धुलोमैलो फाटेपछि श्रीमानलाई चिनेर उर्मिला क्वाँक्वाँ रुन थालिन् । उर्मिलाले आफ्ना हराएका श्रीमानलाई मिलाएकोमा प्रहरीको प्रशंसा पनि गरिन् । उर्मिलाले आफू कोरोनाकालको लकडाउनबाट धेरै खुशी भएको र लकडाउनकै कारण आफ्ना २१ वर्ष पहिले बिछोडिएका श्रीमानसँग मिलन भएको बताइन् । साथै उनका छोराछोरीहरु पनि आफ्नो पितालाई पाएर खुशी भएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..