मेलम्चीको सुरुङ खन्ने काम सकियो, दसैंअघि नै घरघरमा पानी आउने

काठमाडौ ।बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएको छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्राविधिक रुपमा सुरुङ खनेर सोमबार नै सकिएको भए पनि ब्रेक थ्रुको औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको जनाएको हो ।

समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । आगामी २०७५ को दशैँअघि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकाभित्र ल्याउने गरी काम गरेको समेत आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको र अन्य प्रक्रिया सुरु भएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले जानकारी दिनुभयो । अब फिनिसिङको काममात्र हुने उहाको भनाई छ । मगरले दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी उपयोग गर्न पाउने दावी गर्नुभयो ।

समितिले हालसम्म मेलम्ची आयोजनामा २४ अर्ब २२ करोड रुपैयाँ खर्च भैसकेको पनि जानकारी दिएको छ । सुरुङमार्ग छिचोल्नका लागि बाँकी रहेको ग्याल्थुम सिन्धु ९ किमी सुरुङमार्गमध्ये ३ दशमलव ९ मिटर खनेर पूरा गरिएको ब्रेक थ्रु भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले दोस्रो चरणको तयारी समेत थालेको जनाएको छ ।

जस अनुसार याङ्ग्री र लार्के नदीबाट दैनिक १७ करोड लिटर गरी थप ३४ करोड लिटर खानेपानी थप गर्ने कामका लागि परामर्शदाता परिचालन भैसकेको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..