सौर्य उर्जा प्रणालीबाट सिंहदरबार झिलीमिली

काठमाडौ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारबाट सौर्य उर्जा प्रणालीबाट बत्ति बालिएको छ ।

चीन सरकारको सहयोगमा बनेको १ मेघावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदुत यू होङले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो । करिव ६० करोड लागतमा सो सौर्य उर्जा उत्पादन गरी बत्ती जडान गरिएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सौर्य उर्जा नेपालको विकासका लागि महत्वपूर्ण उर्जा भएको बताउनु भयो ।

उहाँले चीनले नेपालको विकासमा गर्दै आएको सहयोगको पनि खुलेर प्रशंशा गर्नु भयो । प्रधानमन्त्री ओलीले सरकारले जनताको जीवनस्तरमै परिवर्तन ल्याउने गरी विकास, निर्माणको कामलाई अघि बढाउन चाहेको पनि स्पष्ट पार्नु भयो ।

नेपालका लागि चीनका राजदुत होङले नेपालको उर्जा विकासमा चीनले दिर्घकालीन योजना बनाएर अघि बढन चाहेको स्पष्ट पार्नु भयो । उहाँले नेपालको विकासमा चीनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

सौंर्य उर्जा प्रणालीबाट समयमै बत्ति बाल्ने काम हस्तान्तरण गरेकोमा प्रधानमन्त्री ओलीले चीन सरकारप्रति आभार समेत व्यक्त गर्नु भएको थियो । यस अघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको उर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र चिनियाँ दुतावासका आर्थिक काउन्सिलर वाई पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गर्नु भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओली र चिनियाँ राजदुत होङलगायतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा जडान गरिएको सौर्य बत्तिको अवलोकन समेत गर्नु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..