क्वारेन्टाइन लैजाँदै गर्दा भीरबाट हाम फाल्दा मृत्यु भएका व्यक्तिको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस

पर्वत । क्वारेन्टाइनमा राख्न लैजाँदै गर्दा भीरबाट हाम फाल्दा मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

बागलुङको बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले क्वारेन्टाइनमा लैजाँदै गर्दा सोमबार भीरबाट हाम फालेका थिए। भारतबाट नेपाल फर्किने क्रममा सुनौलीबाट लु २ ख ४२२० नम्बरको गाडीमा बागलुङको क्वारेन्टाइनतर्पm लैजाँदै गर्दा उनले पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित पोखरा–बागलुङ सडक खण्डबाट हाम फालेका थिए।

सडकबाट झण्डै ६० मिटर तल पुग्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। पर्वत अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी हस्पिटलमा लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको थियो।

बाटोमै निधन भएका उनमा कोरोना सङ्क्रमण रहे नरहेको पत्ता लगाउन पोखरा नै लगेर स्वाब संकलन गरी परीक्षणका लागि सोमबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा मंगलबार उनमा कोरोना संक्रमण नरहेको पुष्टि भएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए।

चुवामा आइपुगेपछि गाडीका चालकले सडकको अवस्थाका कारण अगाडि जान नसक्ने भनी गाडी रोकेको मौकामा नेपालीले बाहिर निस्केर भिरबाट हाम फालेका थिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..