
सुर्खेत । कर्णालीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो।
‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले भने, ‘पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं, सोमबार मृत्यु भएको हो।’
डाक्टर पौडेलका अनुसार उनको सुर्खेतमै अन्त्येष्टि गर्ने तयारी भएको छ।
नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
मृतकका श्रीमती उहाँसँगै अस्पताल आए पनि उनलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले बताए।
मृतककी श्रीमतीको स्वाब तीन पटक पिसीआर गर्दा पनि रिपोर्ट नेगेटिभ आएको बताए ।
योसँगै करर्णाली प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरि मृत्यु हुनेको संख्या ५ पुगेको छ भने नेपालभर मृत्यु हुनेको संख्या २४ पुगेको छ।