देशभरका क्वारेन्टाइन अव्यवस्थित, कार्यान्वयन भएन मापदण्ड

देशभरका क्वारेन्टाइन अव्यवस्थित, कार्यान्वयन भएन मापदण्ड 1

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न सात पन्नाको मापदण्ड नै बनाएर सबै स्थानीय तहलाई पठाएको थियो ।

संघीय सरकारले मापदण्ड पठाएको तीन महिना बितिसक्दा समेत अधिकांश क्वारेन्टाईन मापदण्ड विपरित सञ्चालनमा छन् । कतिपय क्वारेन्टाइनमा कोरोना सङ्क्रमणको जोखिम छ भने केहीमा स्वस्थ मानिस समेत बिरामी पर्ने अवस्था छ ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७७ को पाँच नम्बर बुुदाँले भन्छ, कम्तिमा एउटा कोठामा बढिमा तीन जनाको दरले बस्नु पर्ने र ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको हुनुपर्नेछ । तर दैलेखको महाबु गाउँपालिका वडा नम्बर ६ को क्वारेन्टाइनमा बस्नुुभएका रोहित शाहीले ११ जना एउटै कोठामा बस्दै आएको बताउनुभयो ।

क्वारेन्टाइनहरू, कोरोना सङ्क्रमण स्थल बनिरहेको गुनासो बढ्दै जाँदा, प्रधानमन्त्रीले पनि पटक पटकको सम्बोधनमा अब व्यवस्थित बनाइने बताउनुभएको थियो । तर अझै पनि प्रधानमन्त्रीले भने झैं देखिएको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारी स्थानीय सरकारहरूसँग यस विषयमा मन्त्रालयले बारम्बार छलफल गरिरहेको र समन्वयमा काम भइरहेको बताउनुहुन्छ । संघीय संसद प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा पनि क्वारेन्टाइन अव्यवस्थित भएको बिषयमा छलफल भएको थियो ।

समितिले क्वारेन्टाइन व्यवस्थापन गर्न सरकारलाई निर्देशन पनि दिएको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका क्वारेन्टाइनमा रहनेको सङ्ख्या ७१ हजार १२ रहेको छ । जसमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २३ हजार पाँच सय ३० रहेका छन् । प्रदेश पाँचमा २२ हजार दुुइ सय २८ जना छन् भने सबैभन्दा कम बागमती प्रदेशमा दुुई हजार चार सय ७५ जना क्वारेन्टाईनमा छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..