अध्यक्षद्वय ओली–प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल

अध्यक्षद्वय ओली–प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल 1

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।

दिउँसो साढे ११ बजेदेखि करिब साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि बिहान फेरि अर्को छलफल गर्ने सहमति भएको बालुवाटार स्रोतले बताएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार ‘दुई अध्यक्षबीच छलफल सौहाद्रपूर्ण भयो, अध्यक्ष ओलीले भोलि स्थायी कमिटीको बैठक बस्नुअघि फेरि छलफल गर्ने गरी आज दुई नेताको छलफल सकिएको छ ।’

नेकपा स्थायी कमिटीको बैठक भोली शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो केही दिनयता नेकपाभित्रको शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको छ । पार्टी नै विभाजनसम्म हुने हो कि भन्ने सशंक्ति भएर बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्नुपर्ने स्थायी समिति सदस्यहरुले सुझाव दिएका थिए ।

अध्यक्षद्वय आ–आफ्नै अडानमा अडिग

उच्च स्रोतका अनुसार आजको अध्यक्षद्वयवीच भएको लामो छलफलमा दुबै अध्यक्षले खुलस्त आ(आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए ।

तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने धारणा राखेको उच्च स्रोतले बतायो । प्रचण्डले अब मंसिर ४ को सहमतिअनुसार अघि बढ्न समय घर्किसकेको पार्टी धेरै अगाडि बढिसकेकाले प्रधानमन्त्रीले गम्भीर भएर त्याग देखाउनुपर्ने बताएका थिए ।

स्थायी समितिको बैठक सुरु हुनसाथ शीर्षनेताहरुको विवादका कारण पार्टी विभाजनसम्म नै पो हुने हो कि भन्ने चिन्ता भइरहेका बेला अध्यक्षद्वयवीचको छलफलपछि नेताहरुले पार्टी विभाजन नहुने दाबी गरेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..