
गोरखा । गोरखामा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका–७ का ४४ बर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
यही असार १६ गते कतारबाट आएका उनी जीवनज्योती माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । शुक्रवार कोरोना संक्रमण देखिएपछि उपचारका लागि उनलाई शुक्रबार राती १० बजे अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
‘जटिल खालको निमोनिया थियो, फेरी सुगरको बिरामी पनि हुनुहुँदो रहेछ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भन्नुभयो, ‘उपचार गर्दा गर्दै आज बिहान ५ बजे उहाँको निधन भयो ।’ यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।