
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही मेडिकल कमाउ धन्दामा लागेका छन् । ति मेडिकलहरुले लकडाउनको फाईदा उठाउदैं आर्थिक अनियमिता गरिएको प्रमाण भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिका बजार क्षेत्रका मेडिकल फार्मेसीहरुमा हिजो गरिएको अनुगमनमा अनियमिता भेटिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार सोही नगरपालिकाको सेतीदेवी मेडिकल राम्चेले २४ सयका दरले औषधी विक्री गरेकोे पाइएको हो । मेडिकलले अनियमिता गरिरहेको छ भन्ने सूचनाको आधारमा हामीले नै औषधी किन्न पठाउँदा त्यस्तो प्रमाण पायौं, नगरप्रमुख शेर्पाले भन्नुभयो ।
मेयर शेर्पाका अनुसार नेपाल सरकारले निशुल्क एबोसनको औषधी वितरण गरेपनि बढीमा ६० रुपैंया पर्ने औषधीलाई सेतीदेवी मेडिकलले २ हजार ४ सय रुपैंया लिएको हो ।
त्यस्तै सोही मेडिकलले औषधी विक्रीवितरण गर्दा विल नदिएको पाईएको छ । प्राय सबै मेडिकल हलमा चिकित्सकको सिफारिस बिनानै औषधी विक्री गरेको पाइएको नगरस्वास्थ्य शाखाले जनाएको छ ।
हिजोको अनुगमनबाट एउटा प्रतिवेदन तयार गरी जिल्ला प्रशासन कार्यालय, जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ति सबै ५ वटा मेडिकलहरुलाई लिखित स्पष्टीकरणको लागि नगरस्वास्थ्य शाखाबाट पत्रचार गर्ने र कारवाहीको प्रक्रिया समेत अघि बढाउने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो ।