लकडाउनको व्याकुलताले कार्यक्षमता र मानसिक स्वास्थ्यमा यस्तो असर

लकडाउनको व्याकुलताले कार्यक्षमता र मानसिक स्वास्थ्यमा यस्तो असर 1

कोठाबाट केही कामको निम्ति निस्कियो, कतै रोकियो अनि के गर्न निस्केको बिर्सियो। यस्तो अलिकति कामको शृङ्खला तोडिए जस्तो र बिर्सिएको महसुस आजकल धेरैलाई हुन थालेको छ।

सन् २०११ मा नट्रोडाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले हाम्रो मस्तिष्क एकै पटकमा धेरै सूचना सञ्चय गर्न सक्ने तर स्थान विशेषले कुनै कुरालाई बढी वा कम स्थान दिने गरी प्रभावित तुल्याउने देखाएको थियो।

कोरोनाभाइरसको सङ्क्रमण सुरु भएपछि धेरै व्यक्तिलाई धेरै कुरा बिर्सन थालेको महसुस भएको छ। वास्तवमा कुनै एक कुरामा पूर्ण रूपमा तल्लिन हुन असम्भव जस्तै लागिरहेको छ।

काम गर्न सुरु गर्‍यो, केही क्षणमै अलमल हुने गरी कार्यक्षमतामा ह्रास आएको छ।

तर यस्तो महसुस हुने तपाईँ एक्लो होइन। एकजना लेखकको भोगाइ छ, “केही नगरे पनि म अविश्वसनीय रूपमा व्यस्त छु।”

फिनल्यान्डस्थित आबो एक्याडमी विश्वविद्यालयका मनोवैज्ञानिकका प्राध्यापक माटी लइन भन्छन्, “कार्यस्मरण सावधानी वा ध्यानसँग जोडिएको हुन्छ। केही काम, लक्ष्य, उद्देश्य वा व्यवहार, जे पूरा गर्न चाहनुहुन्छ, तपाईँले त्यसमा ध्यान दिनुहुन्छ।”

अर्को शब्दमा भन्दा कार्यस्मरण वर्तमान समयको क्षमता हो र मानव मस्तिष्कलाई शक्तिशाली बनाउने एउटा ठूलो पक्ष हो। तर अनुसन्धानले परिस्थितिमा तीव्र रूपमा आउने परिवर्तनहरू, चिन्ता र व्याकुलताले तपाईँको ध्यान दिने क्षमतामा ठूलो प्रभाव पार्न सक्ने देखाएको छ।

प्राध्यापक लइनका अनुसार अमेरिकी वयस्कको एउटा ठूलो समूहमा महामारी सुरु हुनु धेरैअघि अनलाइन सर्वेक्षण गरिएको थियो।

अनिद्रा कारण
उनी भन्छन्, “हामीले व्याकुलता र स्मरण क्षमताबीच नकारात्मक सम्बन्ध पायौँ। जति बढी चिन्ता वा व्याकुलता भयो, कार्यक्षमता झन् कमजोर हुन्छ।”

तनावपूर्ण अवस्थाको सृजनाले यसअघि गर्दै आएको सामान्य काम पनि निकै कठिन बनाएर काम गर्ने स्मरणलाई क्षतिग्रस्त तुल्याउन सक्छ।

चारैतिर समाचारमा आउने गरेकाले प्राध्यापक लइन र उनको समूहले ब्रिटेन र उत्तर अमेरिकाका २०० मानिसलाई महामारीसँग जोडिएको व्याकुलता रहे वा नरहेकोबारे सोधेका थिए।

त्यसमा शून्यदेखि दैनिक काममा पनि प्रभावित तुल्याउने अवस्था जनाउने अधिकतम अङ्क १० राखिएको थियो। उनका भनाइमा त्यो अध्ययनले काम गर्ने स्मरण क्षमता र महामारीसँग सम्बन्धित व्याकुलताबीच स्पष्ट र बलियो सम्बन्ध देखाएको छ।

उनी भन्छन्, “तपाईँको क्षमतालाई त्यसले कसरी क्षति पुर्‍याइरहेको छ भन्ने कुरा त्यसले एक हदसम्म देखाउँछ।”

“जब तपाईँ आकुल बन्नुहुन्छ, तपाईँको मस्तिष्कमा नकारात्मक धारणा भरिन्छ।”

युनिभर्सिटी कलेज लन्डनको इन्स्टिट्युट अफ कङ्निटिभ न्यूरोसाइन्सका ओलिभर रोबिन्सनले निरन्तरको चिन्ता अनिद्राको कारण बन्न सक्ने बताउँछन्।

मस्तिष्कको खेल
उनी भन्छन्, “कम सुत्नु वास्तावमा कार्यस्मरणलाई कमजोर बनाउने एउटा कारण हो। यदि तपाईँ राम्ररी सुत्नु हुन्न भने स्मरण क्षमता नाश गर्ने बाटोमा हुनुहुन्छ।”

मस्तिष्कको क्षमतालाई भार पर्ने कुराले पनि त्यसलाई प्रभावित तुल्याउँछ।

रबिन्सनका अनुसार जसले गर्दा किनमेलको सूची बनाउने जस्तो सजिलो काममा पनि तपाईँले धेरै दिमाग लगाउनु पर्ने हुन्छ।

उनी भन्छन्, “मानौँ, तपाईँको दिमागले एक पटकमा चारवटा काम गर्नसक्छ, अचानक १० वटा काम आयो, तपाईँले कुनै पनि गर्न सक्नुहुन्न।”

राम्रो कुरा के छ भने तपाईँले दिमागको कसरत गर्न सक्नुहुन्छ।

थुप्रै दिमागी खेलहरू छन्। तर विज्ञहरूले तीमध्ये धेरै खेल खेल्दा तपाईँले त्यही खेल राम्रोसँग खेल्न सक्नेभन्दा अरू कुरा गर्न सक्नुहुन्न।

तर एनब्याक भनिने एउटा विशेष खालको तालिम अभ्यास आशालाग्दो भएको केही अध्ययनले देखाएका छन्।

एकाग्रताको उक्त खेलमा खेलाडीहरूले मिल्दो कार्डको जोडी खोज्नुपर्छ।

न्यूरोसाइन्स समुदायमा यसको प्रभावलाई लिएर विरोधाभास पाइन्छ तर केही चरण खेलेपछि तपाईँलाई केही तनावको सामना गर्न सहयोग पुर्‍याउन सक्छ।

रोबिन्सन भन्छन्, “सामान्यतया चिन्ताको उपचार विधिमा हामीले मानिसलाई उनीहरूले सोचेजस्तो कुनै कुरा त्यति खराब छैन भन्ने कुरामा विश्वास जगाउँछौँ।”

तर सबैभन्दा प्रभावकारी कुरा भनेको सङ्घर्ष गर्नु ठीक हो भन्ने कुरामा आफूलाई सहमत गराउनु नै हो।

रबिन्सनका भनाइमा तपाईँ उत्पादनशील बनिरहनु भएको छैन र शतप्रतिशत क्षमताअनुसार काम गर्न सकिरहनु भएको छैन भने त्यो गलत होइन, हामी अझैँ पनि महामारीको बीचमा छौँ। केट मोर्गन, बीबीसी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..