कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : सत्ता सहकार्यमा ओलीले सहयोग मागे

कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : सत्ता सहकार्यमा ओलीले सहयोग मागे 1

काठमाडौं । पार्टीमा विवाद चर्किएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ मागेको खुलासा भएको छ ।

पार्टी भित्र अल्पमतमा परेका ओलीमाथि सरकार र पार्टी नेतृत्व छोड्न चर्को दवाव परेपछि उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका थिए ।

ओलीले देउवासँग सत्ता सहयात्राका लागि छलफल गरेको भन्दै ओली इतरको समूह शशंकित बनेको थियो ।

यसैबीच आइतबार(आज) बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीसँगको भेटवार्तावारे समाचारहरु सार्वजनिक भएको भन्दै सभापति देउवासँग जवाफ माग गरेका थिए ।

ओलीसँगको सत्ता सहयात्राबारे समाचारहरु सार्वजनिक भएको भन्दै त्यसबारे जानकारी गराउन वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवासँग माग गरेका थिए ।

पौडेलले भेटवार्तावारे प्रश्न गरेपछि देउवाले बैठकमा ओलीसँगको भेटवार्ता र आज विहान नेकपा नेता सुवास नेम्वाङसँगको भेटवार्तावारे ब्रिफिङ गरेका थिए ।

भेटका क्रममा ओलीले आफू पार्टीमा समस्यामा परेको र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

‘छलफलका क्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीमा समस्या परेको बारे जानकारी गराउनुभयो र सहयोग माग्नुभयो,’ देउवाले बैठकमा भने,‘मैले पार्टीमा सल्लाह गर्छु भनेको छु ।’

त्यस्तै आज विहान नेता नेम्वाङसँग छलफल भएको बताउँदै देउवाले त्यसक्रममा उनले प्रधानमन्त्रीलाई सहयोग गर्न आग्रह गरेको बताए ।

नेम्वाङले सत्ता सहकार्यको प्रस्ताव गरेको र आफूले त्यसबारे केही जवाफ नदिएको देउवाले बैठकमा बताएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताको चाँजोपाँजो नेता मिनेन्द्र रिजालले गरेकोले यसबारे उनलाई धेरै जानकारी रहेको देउवाले बैठकमा बताए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..