विवाद मिलाउन नेकपाका दुई अध्यक्षको वार्ता हुँदै, आज स्थायी कमिटि पनि बस्ने

नेकपा

काठमाडौं । पार्टीभित्र पछिल्लो पटक देखिएको विवाद मिलाउन नेकपाभित्र घनिभूत छलफल सुरु भएको छ । दुई अध्यक्षबीच आज पनि छलफल हुने भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच हिजो भएको छलफलको आधारमा नै आज छलफल सुरु हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

शीर्ष तहमा सहमतिको प्रयास गर्नका लागि नेकपाको स्थायी कमिटि बैठक पटकपटक सर्दै आएको छ । हिजो पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो, यद्यपी कुनै सहमति भएको छैन । अघिल्ला दिनको तुलनामा हिजोको छलफल सकारात्मक भएको र आजको छलफलबाट थप वातावरण बन्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

दुई अध्यक्ष बीचमा पार्टी एकता बचाउने र त्यसका लागि सहमति खोज्ने, एकअर्कामा दुरी बढाउने र शङ्काउपशङ्का निस्कने खालका गतिविधि नगर्ने सहमति भएको छ । प्रचण्ड–नेता नेपाल समूहले भने प्रधानमन्त्रीले स्थायी कमिटिको बैठकको निर्णय मान्नुपर्ने अडान लिँदै आएको छ ।

नेता भीम रावलले पार्टी अध्यक्ष ओलीले जारी स्थायी कमिटि बैठकको सामना गर्नुपर्ने बताउनुभयो । हिजोको दुई अध्यक्षबीचको छलफलमा विवाद मिलाउनका लागि सक्रिय दोस्रो तहका नेताको पनि सहभागिता रहेको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..