नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षको निर्णायक छलफल हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद मत्थर हुने बाटोमा लागेको छ । दुई अध्यक्षबीच शक्ति बाँडफाँडलाई ब्यवस्थित बनाएर सहमति गर्नेगरी छलफल अघि बढेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ठोस सहमति नभएपनि छलफल सकारात्मक बाटोमा अघि बढेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । स्थायी कमिटीको आज बस्ने बैठकअघि पनि दुई अध्यक्षबीच थप छलफल हुनेछ ।

पार्टी एकीकरणका क्रममा २०७५ जेठ २ को पाँचबुँदे सहमति र २०७६ ४ मंसिर ४ मा भएको अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णयकै जगबाट समाधान खोज्ने गरी छलफल भइरहेको छ । गुटबन्दी गरेर आफूलाई हटाउन खोजेका कारण कदम चाल्नुपरेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।

प्रचण्ड प्रधानमन्त्री पद कायम राख्दै अध्यक्षमा एकल अधिकार दिएर अगाडी बढे सहमति हुने बताइरहनु भएको छ । सहमति भइनसकेपनि पछिल्लो वार्ताबाट प्रधानमन्त्री त्यसमा सकारात्मक हुनुहुन्छ । आज स्थायी कमिटी बैठक चलाउने समझदारी पनि भएको छ ।

बिहान दुई अध्यक्षबीचको छलफलले नै अन्तिम टुंगो लगाउने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

दुई अध्यक्षको छलफलका कारण स्थायी कमिटी बैठक तीनपटक स्थगित भइसकेको छ । आजको स्थायी कमिटी बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..