विश्वमा कोरोना संक्रमित संख्या १ करोड ४० लाख नाघ्यो, ६ लाख बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये ६ लाख ६६५ जनाको ज्यान गइसकेको छ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म सबैभन्दा बढी ३६ लाख ३८ हजार २ जना संक्रमित भेटिएका छन्। त्यहाँ ज्यान गुमाएका संक्रमितको संख्या १ लाख ३९ हजार १२८ पुगेको छ।

अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रसिया र पेरुमा धेरै संक्रमित भेटिएका छन्। ब्राजिल, बेलायत, मेक्सिको, इटली र फ्रान्समा अन्यत्रभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। भारतले संक्रमितको संख्यामा रूसलाई पनि उछिनेको छ। त्यहाँ संक्रमितको संंख्या १० लाख ३ हजार ८३२ जना पुगेको छ।

महामारीकै बीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा लगाइएको लकडाउन खुकुलो पार्ने घोषणा गरेका छन्। आउँदो क्रिसमससम्म बेलायतको अवस्था सामान्य बनाउने बेलायतको योजना छ।

अमेरिकामा एकैदेनि ७४ हजार ५०० संक्रमित थपिएका छन्। कोरोना महामारी सुरु भएपछि एकैदिन भेटिएका संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई मास्क लगाउने आदेश दिन अस्वीकार गरेका छन्। लामो समयसम्म मास्क लगायत स्वास्थ्य सजगतामा ध्यान नदिएका ट्रम्प गतसाता आफैं मास्क लगाएर एक अस्पतालमा उपचाररत सैनिक भेट्न पुगेका थिए।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..