अझै झस्किनुहुन्छ पहिरोमा पुरिएका गोवासिंह

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा हुनुहुन्छ ।

जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउनुहुन्छ । झपक्क निदाउन खोज्दा त्यही पहिलेको झझल्को आएपछि चिच्याउनुहुन्छ र बर्बराउन थाल्नुहुन्छ । “मेरो जीवनको ७९औँ वसन्तमा त्यो दुःखद् रात आयो र गयो पनि”, उहाँले भन्नुभयो, “त्यही रातको नियति अहिले अस्पतालको श्ययामा भोगिरहेको छु ।” मुसलधारे वर्षा बर्सिएको कालो रातको सम्झनाले अझै पनि उहाँलाई झस्काइरहेको छ । “रातभर पहिरोमै पुरिएर घिटीघिटीको अवस्थापछि मेरो उद्धार भएको हो”, उहाँले त्यो रात सम्झँदै भन्नुभयो, “पहिरोसँगै ढुङ्गा र माटो धेरै पटका निलेँ । हातखुट्टा र शरीर पूरै पुरिएको थियो ।”

पहिरो गएको दुई दिनपछि अर्थात् गत मङ्गलबार उहाँलाई पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङमा शेर्पाले निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर उद्धार गर्नुभएको थियो । उमेरले आठ दशक पुग्नुभएको उहाँको दुई दिनसम्म सिलिचोङ–१ को शेर्पाबस्तीमा सामान्य उपचार गरिएको थियो । त्यहाँ पार नलागेपछि उहाँ उद्धारको पर्खाइमा बस्नुभयो ।

प्रदेश नं १ सरकारले उद्धारका लागि प्रयोग गरेको सेनाको एमआई–१७ हेलिकोप्टरले दुई दिनसम्म उद्धारको प्रयास ग¥यो तर उद्धार र राहत विस्थापित राखिएको चित्रेगाउँसम्म पुग्न सकेन । स–साना डाँडाकाँडा र बाक्लो हुस्सुका कारण राहत बोकेको हेलिकप्टर अवतरण हुन नसकेको हो ।

पहिरोमा बाँच्न सफल भए पनि गोवासिंहले दुई दिनसम्म सामान्य उपचार मात्र पाउनुभयो । उहाँको अवस्था बिग्रिँदै गएपछि पहिरो गएको बेसिन्दामा उहाँलाई स्ट्रेचरबाट गाउँलेले बोकेर ल्याएका थिए । त्यसपछि खड्का र शेर्पाले लगेको निजी हेलिकप्टरमा गोवासिंह र अर्का राममाया राईलाई उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको हो ।

“बल्ल बाँच्छुजस्तो लाग्यो । पहिरोमा पुरिएर तीन घण्टापछि सकुशल उद्धार भयो, तर दुई दिनसम्म दुखाइ सहेर चित्रेमा बसेँ । बुढ्यौली उमेर भएकाले हिँडेर सदरमुकाम आउने र उपचार गर्ने हिम्मत मसँग थिएन”, अस्पतालको श्ययामा उपचाररत गोवासिंहले भन्नुभयो, “बोकाएर स्ट्रेचरमा ल्याउँदा दुई दिन लाग्थ्यो, त्यो पनि सम्भावना थिएन ।” अस्पतालको श्ययाबाट उहाँले पहिरामा हराइरहेका ११ छिमेकीका बारेमा पनि चिन्ता लिइरहनुभएको छ । उहाँलाई भेट्न जाने जोकोहीलाई सोध्ने गर्नुहुन्छ, “११ जना पहिरोमा हराएका थिए उनीहरुको अवस्था कस्तो छ, भेटिन्छन् भेटिँदैन ?” सास नभेटे लास भए पनि खोज्नुपर्ने उहाँको भनाइ थियो । उहाँको अवस्था अहिले सामान्य छ ।

कहालीलाग्दो रातमा माथिबाट आएको ज्यानमारा पहिरोले बेसिन्दागाउँका नौ घरमात्र बगाएन, परिवारसँगै बसेका ११ जनालाई आफन्तबाट थुतेर लग्यो । न त सास छ न लास नै । उनीहरु ११ अझै बेपत्ता छन् । उनीहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।

पहिरोमा उछिट्टिएर आएको ठूलो ढुङ्गाको आडमा अड्किएर गोवासिंह, उहाँकी श्रीमती भीमसरी र छोरी फूलमाया राई बाँचेका थिए । “अड्चालीस घण्टासम्म मुसलधारे पानी दर्कँदा त्यस क्षेत्रको वरिपरिको पहाडमा पहिरो मात्र गएन”, अस्पतालमा उपचार गरिरहनुभएकी राममाया राईले भन्नुभयो, “हाम्रो घर र मनभित्र नै विशाल भेल पस्यो । सयौँ मुरी फल्ने खेत, अलैँचीबारी त बगाएर बगरमा परिणत भयो, अब के खाएर बस्ने ।” बाँच्नेहरुले बेपत्ता पत्ता लगाउन र भोको पेट भर्नका लागि सबैसँग हारगुहार गरिरहेका छन् ।

पहिरोको डरले ७९ परिवारका ३४९ जना थातथलो छाडेर चित्रे भन्ने शेर्पा गाउँ र वालाको बुधबारेमा आश्रय लिएर बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार विस्थापितलाई राख्न ५३ अस्थायी टहरा निर्माण गरिएको छ । त्यसमध्ये २७ अस्थायी टहरामा विस्थापित परिवार बुधबारेमा बसेका छन् । बाँकी २५ टहरा सेनाको बराहदल गुल्मले चित्रेमा निर्माण गरेको प्रजिअ आचार्यले बताउनुभयो । त्यसैमा विस्थापितहरु ३४९ जना बस्नु पर्नेछ ।

प्रदेश नं १ सरकारले उपलब्ध गराएको राहत सामग्री बिहीबार मात्र पीडितलाई चित्रेबाट पाँच घण्टा हिँडाएर वालाको बुधबारेबाट वितरण गरिएको छ । सेनाको ठूलो हेलिकप्टर पहिरो प्रभावित क्षेत्रमा बस्न नसकेपछि बुधबारेमा राहत लगिएको थियो । राहत लिएर चित्रे पुग्न पीडितलाई आधा दिन लाग्छ । तीन जनासम्मको पीडित परिवारलाई राहतस्वरुप २५ किलो चामल, एक–एक किलो दाल, नुन र तेल वितरण गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँका अनुसार चारदेखि माथि सङ्ख्या रहेको परिवारका लागि ५० किलो चामल, दुई–दुई किलो दाल, नुन र तेल वितरण गरिएको छ ।

सिलिचोङको होयाङला, चेप्चेवालगायतका स्थानमा पनि पहिरो जाने डरले अस्थायीरूपमा ५९ परिवार विस्थापित भएका छन् । उनीहरुका लागि पनि राहत उपलब्ध गराइएको छ । घरमा खाने अन्न, लत्ताकपडा र खानेपानी नहुँदाको विलापमा रहेका उनीहरुलाई केही भए पनि राहत मिलेको छ । पहिरामा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । बेपत्ताको खोजीमा खटिएका एक जनाले ज्यानसमेत गुमाएका थिए । विकट र भिरालो जमीन भएकाले बेपत्ताको खोजीमा अझै समस्या भइरहेको उहाँले बताउनुभयो ।

पहिरोमा ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान र उनकी श्रीमती हस्तकुमारी, छोरी एन्जिला, नम्रता राई हराइरहेका छन् । अर्का जुद्धबहादुर माने (राई) र श्रीमती उत्तरकुमारी पनि बेपत्ता छन् । नजमाया, हर्कराज, आइतमाया राई पनि बेपत्ता छन् । पहिराले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको थियो । – सुजन बज्राचार्य, रासस

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..