स्थानीय र क्रसर सञ्चालकबीच झडप : दुई युवा घाइते, क्रसर सञ्चालक पक्राउ

नुवाकोट । नुवाकोटको उत्तरी भेगमा रहेको चौघडास्थित ताँदी खोलामा स्थानीय र क्रसर सञ्चालकबीच झडप भएको छ ।

झडपमा दुई जना घाइते भएका छन् । प्रहरीले क्रसर सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । विदुरदेखि २५ किलोमिटर उत्तरमा रहेको लिखु गाउँपालिका वडा नं. ४ गड्खारको चौघडामा स्थानीय र क्रसर सञ्चालकवीच झडप हुँदा हेभी इक्युपमेण्टहरुसमेत तोडफोड भएको छ ।

खोलाबाट तस्करी रोक्न स्थानीय क्रियाशील रहेका बेला क्रसर सञ्चालकले आक्रमण गरेको नुवाकोट प्रहरीले जनाएको छ । प्रहरीले क्रसर सञ्चालकहरू शैलेश श्रेष्ठ र सन्तोष श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जना घाइते अस्पतालमा उपचाररत छन् । घाइते हुनेमा स्थानीय सन्तोष राई र मनिष राई रहेको छन् । उनीहरूलाई धारिलो हतियार खुँडा प्रहार गरिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार झडपमा एउटा लोडर, गाडी, टिपर, एक्स्काभेटरलगायतका उपकरणमा तोडफोड भई क्षति पुगेको छ । अवैध क्रसर उद्योगलाई बालुवा झिक्न प्रहरीले सघाउँदै आएको स्थानीयको आरोप छ । स्थानीय प्रशासन, प्रहरी र स्थानीय तह, जिल्ला समन्वय समितिलाई आफ्नो पहुँचमा लिएर नदी दोहन गरिरहँदा पनि जिल्ला प्रहरी कार्यालयले रोक्न नसकेको स्थानीयले आरोप लगाएका छन् ।

संघीय कानुनअनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालन गर्नुपर्ने प्रावधान छ । यद्यपि, चौघडा गड्खारको सो क्रसर उद्योगले लिखु गाउँपालिकाबाट अनुमति लिएर ढुंगा, गिटी र बालुवा निकालिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी अविनारायण काफ्लेले कानून अनुसार आफूहरूले कुनै अवैध क्रसर उद्योग चल्न नदिएको दाबी गर्नुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..