निरन्तरको वर्षाले भोक–निन्द्रा हरायो

नवलपुर । हिजोबाट देशका कतिपय स्थानमा वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै ४ दिन निरन्तर झरी पर्नेछ ।

जब झरी पर्न थाल्छ, नदी किनारका बस्तीमा रहेकाहरुको भोक निद्रा हराउँछ । जब ठूलो वर्षा हुन्छ । नवलपुरको मध्यविन्दु ३ रतपुरका विष्णुप्रसाद पोखरेललाई निन्द्रै पर्दैन ।

२०५७ सालमा भात खाने खेत बगाएर उठीबास बनाएको नारायणी नदीको बाढीले अहिले पनि उहाँलाई तर्साइरहन्छ । नवलपुरको मध्यविन्दु ३ रतनपुरका स्थानीय बाढीको त्रासमा बाँच्नु परेको वर्षौं भइसक्यो ।

तर बाढी नियन्त्रणका लागि सांसददेखि स्थानीय तहका जनप्रतिनिधीसम्म कसैले सहयोग गरेनन् । स्थानीय विष्णु अधिकारी २०४५ र ०५७ सालमा बाढि आएको र बस्ती नै बगाएको सम्झनुहुन्छ । तर त्यस यता बाढीबाट बस्तीलाई जोगाउन पहल र काम भएको उहाँलाई सम्झना छैन । २०५७ सालमा नारायणीको बाढीले खेत बगाए पनि प्रभावितले सरकारलाई तिरो भने तिरिरहेका छन् ।

स्थानीय विष्णु प्रसाद पोखरेल तिरो तिरिरहेको तर आफूहरूले केही पनि नपाएको गुनासो गर्नुहुन्छ । निरन्तरको कटानले नारायणी नदीमा बनाइएको तटबन्धलाई नै बगाउने होकी भन्ने चिन्ता अहिले स्थानीयमा छ । किनार नजिक रहेको होटल बगाइसकेको छ भने थप खेतीयोग्य जमिन लगातार कटान भइरहेको छ । तर वडाअध्यक्ष अमरबहादुर महतोले कटान रोक्ने काम भइरहेको दाबी गर्नुभयो ।

अहिले ६० लाख बजेट परेको छ र पानीको धक्का नियन्त्रणका लागि काम भइरहेको छ । तर लामो समयदेखि समस्या झेल्दै आएका नागरिक दीर्घकालिन समाधान नखोजिंदा ठूलो पानी पर्नासाथ रातभर जाग्राम बस्न बाध्य छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..