बिहानैदेखि देशका अधिकांश भूभागमा वर्षा, सतकर्ता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । रातिदेखि नै देशका अधिकांश भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागमा अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

‘आइतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले पूर्वसूचनासमेत दिएका छौँ,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उनले काठमाडौं तथा आसपासको क्षेत्रमा अत्यधिक वर्षासँगै राम्रो निकासको अभावमा डुबानको समस्या देखिएको बताए । यो वर्षाको कारणले मात्रै नभएर शहरमा पानीको निकास जाने ठाउँको अभावको कारणले समस्या देखिएको मौसमविद् प्रधानाङ्गले बताए ।

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

विभागका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था भएकाले खतरा बढेको जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..